काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउपछि सरकार पक्षले यसलाई कानूनी प्रक्रिया अनुसार अघि बढाइएको कदम भएको जनाएको छ। गृहमन्त्री सुधन गुरूङले यो कदम प्रतिशोधका लागि नभई न्याय सुनिश्चित गर्ने उद्देश्यले चालिएको बताएका छन्।
उनका अनुसार भदौ २३ र २४ गते भएको घटनाबारे जाँचबुझ आयोगले दिएको प्रतिवेदन र पीडित पक्षको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको हो। “यो कसैलाई लक्षित गरेर गरिएको कारबाही होइन, कानूनअनुसार प्रक्रिया अघि बढाइएको मात्र हो,” उनले स्पष्ट पारे।
प्रहरीले शनिबार बिहानै दुवै नेतालाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणअघि ओली निवासमा केहीबेर तनावको अवस्था देखिएको थियो। एमाले कार्यकर्ताले प्रहरी प्रवेशमा अवरोध गरेपछि सामान्य धकेलाधकेल भएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको बताइएको छ।
ओलीले पक्राउअघि आफ्ना कानुनी सल्लाहकारलाई बोलाएका थिए। यसले घटनाको संवेदनशीलता र कानुनी तयारी दुवै पक्षबाट भइरहेको संकेत गर्छ।
सरकारले आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेसँगै सुरक्षा निकाय सक्रिय बनेका थिए। अहिले दुवै नेतालाई काठमाडौं ल्याएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
यो घटनाले नेपाली राजनीतिमा ‘उच्च पदमा रहेका व्यक्तिहरू पनि कानूनको दायराभन्दा बाहिर छैनन्’ भन्ने सन्देश दिन खोजिएको सरकारको बुझाइ छ।





























प्रतिक्रिया