प्रधानमन्त्रीलाई बामदेव गौतमको खुलापत्र- ‘७४ वर्षका वृद्धलाई थुनामा राख्नु गलत’

प्रधानमन्त्रीलाई बामदेव गौतमको खुलापत्र- ‘७४ वर्षका वृद्धलाई थुनामा राख्नु गलत’

केन्द्रबिन्दु
45
Shares

काठमाडौं | पूर्वउपप्रधानमन्त्री तथा नेकपाका केन्द्रीय सदस्य बामदेव गौतमले नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई एक खुलापत्र लेख्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई हिरासतमा राखिएको प्रति कडा आपत्ति जनाएका छन् ।

४३ औँ प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालेका शाहलाई बधाई दिँदै गौतमले वर्तमान सरकारको कार्यशैली “प्रतिशोधपूर्ण” भएको टिप्पणी गरेका हुन् ।

गौतमले पत्रमा उल्लेख गरेअनुसार, ७४ वर्षको वृद्ध अवस्थामा रहेका र शारीरिक रूपमा समेत अस्वस्थ रहेका पूर्वप्रधानमन्त्री ओलीलाई अपराधी जस्तो व्यवहार गरी रातारात घर घेरेर पक्राउ गरिनु लोकतान्त्रिक मर्यादा विपरित हो। “संसारका अन्य राष्ट्रमा मृत्युदण्ड दिइने व्यक्तिलाई समेत अन्तिम इच्छा सोधिन्छ, तर ओलीजीको हकमा कुनै कानुनी परीक्षण नै नगरी एकाबिहानै पक्राउ गरियो, यो शैली सरासर गलत छ,” गौतमले पत्रमा भनेका छन् ।

गौतमले २०८२ भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ को स्मरण गर्दै उक्त समयमा भएका दुखद घटनाका कारण आफूले नै ओलीलाई राजीनामा दिन सुझाएको स्वीकार गरेका छन् । १९ जनाको मृत्यु र राष्ट्रिय विध्वंसको त्यो घडीमा ओलीले राजीनामा दिएर मार्गप्रशस्त गरेको र सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भई फागुन २१ मा निर्वाचन सम्पन्न हुनुमा ओलीको पनि योगदान रहेको उनको तर्क छ।

कुनै पनि घटनाको छानबिन प्रतिवेदन सरकारलाई पेस भएपछि त्यसको अध्ययन र अदालती प्रक्रियाबाट प्रमाणित भएपछि मात्र कारबाही हुनुपर्ने गौतमको माग छ। उहाँले प्रधानमन्त्री शाहलाई प्रश्न गर्दै भनेका छन्- “उहाँलाई थुन्नका निम्ति जे-जे तथ्य जम्मा गरिएको छ, ती सबै अदालतबाट प्रमाणित भएपछि मात्र थुनेर कारबाही गर्नु भए हुन्न र ?”

पूर्वगृहमन्त्री समेत रहेका गौतमले कानुनी शासनको उपहास नगर्न र गल्ती सच्याउन प्रधानमन्त्री शाहलाई आग्रह गरेका छन् । एउटा ऐतिहासिक राजनीतिक व्यक्तित्वलाई यसरी सकसमा पार्नुले देशमा गलत नजीर बस्ने भन्दै उनले मानवीयता र न्यायको पक्षमा उभिन सरकारलाई सचेत गराएका छन् ।

Skip This
Skip This
Logo