काठमाडौं। बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले ६ जना राजदूत फिर्ता बोलाएपछि परराष्ट्र मन्त्रालयमा तानिएका दुई राजदूतले राजीनामा दिने तयारी गरेका छन्।
सुशीला कार्की नेतृत्वको सरकारले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। कार्यकाल पूरा नहुँदै गरिएको उक्त निर्णयविरुद्ध राजदूतहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।
सर्वोच्च अदालतले सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि उनीहरूलाई परराष्ट्र मन्त्रालयमा कामकाजका लागि तानिएको हो। त्यसयता उनीहरू मन्त्रालयमै हाजिर गर्दै आएका छन्।
मन्त्रालयमा तानिएका राजदूतहरूले तलब सुविधा लिइरहेको विषय बाहिर आएपछि आलोचना बढेको थियो। त्यसपछि ११ मध्ये ९ जना राजदूतले राजीनामा दिइसकेका छन्।
हाल जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेती र स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल मन्त्रालयमै कार्यरत छन्। उनीहरू पनि राजीनामा दिने तयारीमा रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
यसअघि मन्त्रिपरिषद्को असोज ३० गतेको बैठकले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। अदालतको अन्तरिम आदेशपछि उक्त निर्णय तत्काल कार्यान्वयन भएको थिएन।
त्यसपछि परराष्ट्र मन्त्रालयले उनीहरूलाई मन्त्रालयमै कामकाज गर्ने गरी तानेको थियो। फिर्ता भएका स्थानमा परराष्ट्र मन्त्रालयका वरिष्ठ कर्मचारी कार्यवाहक राजदूतका रूपमा कार्यरत छन्।





























प्रतिक्रिया