दार्चुला । कहिले काँही यात्रा भूगोल बदल्न होइन, मन भत्काउन र फेरि जोड्नका लागि हुन्छ । प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) को दार्चुला यात्रा पनि त्यस्तै बनिदियो जहाँ बाटोले शरीर हिँडायो तर त्यहाँका दृश्यले हर्कको आत्मा थिच्यो ।
दार्चुलाको उचाइमा उभिएर उनले देखे दुख अभाव पीर र धैर्यले बाँचेका जीवनहरू । जहाँ गाउँबाट पालिका कार्यालय पुग्नै ६ घण्टा पैदल हिँड्नुपर्छ, र त्यो पनि ढुंगा खस्ने जोखिमसँग सम्झौता गर्दै। जिल्ला सदरमुकाम पुग्न १ देखि डेढ दिन लाग्छ, तर त्यो दूरीभन्दा ठूलो दूरी राज्य र नागरिकबीच देखिन्छ भन्ने अनुभूति उनले त्यहीँ पाए ।
फोन छैन, बिजुली छैन, सडक त टाढाको सपना जस्तो। स्वास्थ्य चौकी पुग्न चार घण्टा पैदल हिँड्नुपर्ने बस्तीमा रोगले उपचार होइन, धैर्य पर्खिन्छ । सीमित विद्यालय आधारभूत तहसम्ममात्र त्यैपनि कलिला वालवालिकालाई घण्टौं हिड्नुपर्ने बाध्यता । यतीमात्र देखेनन् साम्पाङले एउटी आमाको कहालीलाग्दो कथा सुनेर भक्कानिए भावह्वीहल भए । “ सुत्केरी बुहारीलाई औषधी किन्न भनी बजार गएका छोरा तुइन चुँडिएर महाकालीमा विलायो कहिल्यै फर्केन।” एउटी आमाले बिलौना गर्दा भक्कानिएको हृदयमा गहिरो चोट लिएर हर्क फेशवुकमा लामो स्टाटस लेख्दै काठमाडौं फर्के। उनले लेखेका छन् ,
“जहाँ म पुगेँ त्यहाँबाट पालिका कार्यालय पुग्न ६ घण्टा हिँडेर जानुपर्ने रैछ। बाटोमा ढुङ्गा खस्ने जोखिम हुने रैछ भने जिल्लाको सदरमुकाम पुग्न १ देखि १.५ दिन। फोन नलाग्दो रैछ। बिजुली प्रसारण पनि रैन रैछ। स्वास्थ्य चौकी पुग्न ४ घण्टँ हिँडेर जानपर्ने। बजार सदरमुकाममा मात्रै रैछ। जान १ दिन लाग्ने। विद्यालय आधारभूत तहसम्म रैछ। शिक्षक दरबन्दी पुग्दो रैन रैछ। १५ जना सशस्त्र प्रहरी र ५-६ जना नेपाल प्रहरी देख्दा मात्रै त्यो नेपाल हो भन्ने राज्यको उपस्थिति महसुस हुँदोरैछ। संसारको यस्तो कुना जहाँ सयौँ वर्षदेखि मानिसहरू विकासको पर्खाइमा तुइनबाट खस्दै महाकालीमा विलिन हुँदै जीवन जिइरहेका रैछन्। घरैपिच्छे १ जना, २ जना तुइन चुँडिएर महाकालीमा खसेका रैछन्। सुत्केरी बुहारीलाई औषधी किन्न भनी बजार गएका छोरा तुइन चुँडिएर महाकालीमा बिलाए। कहिल्यै फर्केन भन्दै एउटी आमाले बिलौना गर्दा भक्कानिएको हृदयमा गहिरो चोट लिएर काठमाडौँ फर्कंदैछु आज। कहिल्यै घाम नलागेको तुसारोले छोपिएको पाखामा कठ्यांग्रिएर घामको न्यायो खोजिरहेका ती आँखाहरुको सपना मैले पनि मेरो आँखामा सजाएर काठमाडौँ फर्किंदैछु आज। संसद्को बैठकहरू अनि मेरा अनेकन् जिम्मेवारीले गर्दा फर्कन बाध्य छु। त्यो ठाउँलाई सम्झिँदा जीवनभरि उतै बसेर गिट्टी कुटिरहूँजस्तो लाग्ने,श्रमदान गरिरहूँ जस्तो आजीवन, यो कुनै यात्रा थिएन मेरो लागि। यो थियो- एउटा पीडाबोध, यथार्थको खोज। हराएका मेरा नेपाली दाजुभाइ, दिदीबैनीलाई खोज्ने यात्रा। श्रमदानको अभियानमार्फत अब हामी जोडिएका छौँ। पूर्व र पश्चिमलाई जोड्ने एउटा संकल्प। अब मैले भन्नुपर्ने र भनिरहनुपर्ने केही रहेन, अब राज्यको आँखा त्यता दौडनुपर्छ। दार्चुला नेपालको अभिन्न र प्रमुख स्थानहरूमध्ये एक बन्नुपर्छ। हर्क साम्पाङले लेखेका छन् । त्यहाँका दृश्यले उनको भित्र केही भत्कायो। आमाको बिलौना सुन्दा उनी आफैँ शब्दविहीन भए। लाग्यो, आँखा मात्रै होइन, देश नै रसाएको छ । उनलाई फर्किनुपर्ने बाध्यता संसदको जिम्मेवारी थियो, तर मन भने त्यहीँ रोकिएको जस्तो।“
भावुक स्वभावका साम्पाङका लागि दार्चुला यात्रा साधारण भ्रमण मात्र बनेन मानिस र राज्यबीचको दूरी नाप्ने यात्रा बनिदियो जहाँ हरेक ढुंगा, हरेक तुइन, हरेक मान्छेका कथाव्यथाले भनिरहे हामी अझै विकासबाट कति टाढा छौं ? दार्चुलाबाट फर्किँदा उनले एउटा कुरा साथ लिएर लिएर फर्के दृश्य मात्र होइन जिम्मेवारी पनि । त्यहाँका पीडालाई संसदमा उठाउने साम्पाङको भनाई छ । तुइन प्रतिस्थापन गर्ने भन्दै दार्चुला पुगेका हर्क साम्पाङले झोलुङ्गे पुलको शिलान्यास समेत गरेका छन् । व्यास गाउँपालिका-२ दुम्लिङमा घट्टे खोलाको काठे पुललाई श्रमदान मार्फत् झोलुङ्गे पुल बनाउन औपचारिक रूपमा सुरुवात गरेका हुन् ।
उनलाई स्थानीयबासीले बागागाजासहित स्वागत गरेका थिए । ‘कोही पनि महाकालीमा झरेर अकालमा मर्नु नपरोस् । हामी यहाँ राजनीति गर्न, पार्टी विस्तार गर्न पनि आएका होइनौं । कोही मान्छे दुःखमा थियो, मैले सहयोग गर्नुपर्छ भनेर पाइला चालेको मात्र हो । श्रमदानमार्फत् गर्न लागिरहेका छौं । यहाँ सरकारको एक पैसा खर्च हुने छैन ।’ महाकालीको तुइनलाई पुलमा प्रतिस्थापन गर्ने भनेर चन्दा उठाउन सुरू गरेका हर्कले घट्टे खोलामा झोलुङ्गेपुल बनाउन लागेका छन् ।





























प्रतिक्रिया