सशस्त्र प्रहरीको नयाँ नेतृत्वका लागि एआईजी पौडेल र दाहालबीच तीव्र प्रतिस्पर्धा

सशस्त्र प्रहरीको नयाँ नेतृत्वका लागि एआईजी पौडेल र दाहालबीच तीव्र प्रतिस्पर्धा

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी) राजु अर्याल आगामी वैशाख १८ गते अवकाशमा जाने भएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया चासोको केन्द्र बनेको छ।

आईजीपी पदका लागि हाल सशस्त्र प्रहरीका दुई अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणप्रसाद पौडेल र वंशी दाहालबीच मुख्य प्रतिस्पर्धा देखिएको छ। दुवै जना वर्तमान संगठन संरचनामा वरिष्ठ अधिकारी भएकाले निर्णयमा वरीयता र कार्यक्षमताले महत्वपूर्ण भूमिका खेल्ने अनुमान गरिएको छ।

सरकारले हालै सुरक्षा निकायमा पारदर्शी र विधिसम्मत बढुवा प्रणाली अपनाउने संकेत दिएको छ। गृहमन्त्री सुधन गुरुङले कुनै पनि सरुवा–बढुवा राजनीतिक प्रभाव बिना कानुनअनुसार हुने बताएका छन्।

नियमावलीअनुसार एआईजीमध्ये ज्येष्ठता र कार्यकुशलताका आधारमा आईजीपी नियुक्त गर्नुपर्ने व्यवस्था छ। सशस्त्र प्रहरीमा हाल तीन एआईजीको दरबन्दी छ र उनीहरू आ–आफ्ना विभागीय जिम्मेवारीमा कार्यरत छन्।

यसैबीच, अवकाश नजिकिँदै गर्दा वर्तमान आईजीपी अर्याल केही दिनअघि बिदा बस्ने तयारीमा भए पनि सरकारको निर्देशनपछि रोकिएका छन्। नयाँ नेतृत्व चयन समयमै भए संगठनमा सहज हस्तान्तरण हुने अपेक्षा गरिएको छ।

अबको केही दिनमा सशस्त्र प्रहरीको नेतृत्व कसले सम्हाल्ने भन्ने निर्णय हुने भएकाले सुरक्षा वृत्तमा चासो उच्च बनेको छ।

Logo