मालपोत कार्यालयमा टोकन प्रणाली लागू, भीड नियन्त्रण र पारदर्शितामा जोड

मालपोत कार्यालयमा टोकन प्रणाली लागू, भीड नियन्त्रण र पारदर्शितामा जोड

केन्द्रबिन्दु
21
Shares

झापा । भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले सेवा प्रवाहलाई छरितो र पारदर्शी बनाउन टोकन प्रणाली लागू गरेको छ। कार्यालयले आजदेखि लागू गरेको नयाँ व्यवस्थाअनुसार अब सेवाग्राहीले भीडमा घण्टौँ लाइन बस्नुपर्ने अवस्था घट्ने बताइएको छ। प्रत्येक फाँटमा २५–२५ टोकन वितरण गरी दैनिक करिब १५० लिखतसम्बन्धी काम टोकन प्रणालीबाटै सञ्चालन हुनेछन्।

सूचना अधिकारी मोहनसिंह दर्जीका अनुसार बिहान ९ बजेदेखि टोकन वितरण सुरु हुनेछ र सेवाग्राहीले आवश्यक कागजातसहित स्वयं उपस्थित हुनुपर्नेछ। सेवा क्षमता विस्तारसँगै टोकन संख्या पनि बढाउने योजना रहेको उनले बताए। नयाँ प्रणालीमार्फत लिखत पारित, नामसारी, दाखिला–खारेज, रोक्का तथा प्रतिलिपि जस्ता सेवा व्यवस्थित रूपमा दिइनेछ। तर केही प्रशासनिक फाँटमा भने टोकन आवश्यक नपर्ने व्यवस्था गरिएको छ।

यससँगै कार्यालय परिसरमा अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ गरिएको छ। सेवाग्राही र सम्बन्धित अनुमति प्राप्त व्यक्तिले मात्र प्रवेश पाउने व्यवस्था गरिएको कार्यालयले जनाएको छ। कार्यालयको यो कदमलाई सेवा प्रवाह सुधार र बिचौलिया नियन्त्रणतर्फको प्रयासका रूपमा हेरिएको छ।

Logo