सीमा भन्सार नियमविरुद्ध महावीर पुनको आपत्ति

सीमा भन्सार नियमविरुद्ध महावीर पुनको आपत्ति

केन्द्रबिन्दु
21
Shares

काठमााडौं । स्वतन्त्र सांसद महावीर पुनले सीमा क्षेत्रमा व्यक्तिगत प्रयोगका लागि ल्याइने सामानमा १०० रुपैयाँभन्दा बढी मूल्य भए भन्सार तिर्नुपर्ने नेपाल सरकारको पछिल्लो निर्णयलाई अव्यावहारिक र अन्यायपूर्ण भन्दै कडा आपत्ति जनाएका छन्। उनले दशकौँदेखि चलिआएको व्यवहारिक र सामाजिक अभ्यासलाई बेवास्ता गर्दै गरिएको यो परिवर्तनले सीमा क्षेत्रका बासिन्दालाई प्रत्यक्ष असर पार्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पुनले सीमावर्ती क्षेत्रका नागरिकबाट सयौँ गुनासो र अनुरोध आएको उल्लेख गर्दै आफूले त्यसै आधारमा सार्वजनिक रूपमा विरोध जनाएको स्पष्ट पारे। उनका अनुसार सीमा क्षेत्रमा सानो परिमाणमा दैनिक उपभोग्य वस्तु ल्याउने पुरानो अभ्यासलाई एकैपटक हटाउनु व्यवहारिक रूपमा सम्भव छैन र यसले जनजीवनमा अनावश्यक बोझ थप्नेछ।

उनले सरकारले ल्याएको नयाँ व्यवस्थाअनुसार भारतबाट नेपाल प्रवेश गर्दा १०० रुपैयाँभन्दा बढी मूल्यका सबै सामानमा भन्सार तिर्नुपर्ने नियमलाई “अत्यन्त कठोर र अस्वाभाविक” भन्दै तत्काल पुनर्विचार गर्न माग गरेका छन्। पुनले यस्तो निर्णयले सीमावर्ती जनताको सहज आवागमन र आर्थिक गतिविधिमा असर पार्ने चेतावनीसमेत दिएका छन्।

उनको भनाइमा, सीमा क्षेत्रमा पुस्तौँदेखि कायम रहेको सानो मात्राको सामान ल्याउने परम्परा केवल आर्थिक मात्र नभई सामाजिक व्यवहारसँग पनि जोडिएको विषय हो। त्यसैले यसलाई रातारात हटाउनु गलत भएको उनले बताएका छन्।

Logo