काठमाडौं। गृहमन्त्री सुधन गुरुङले आफूविरुद्ध योजनाबद्ध रूपमा “मिडिया ट्रायल” चलाइएको भन्दै कडा आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै उनले भ्रष्टाचारविरुद्धको आफ्नो अभियान कसैले पनि रोक्न नसक्ने चेतावनी दिएका छन्।
उनले दाबी गरेका छन् कि राज्यकोषमा आँखा लगाउने समूहहरू आफ्ना कदमबाट त्रसित भएर भ्रम फैलाइरहेका छन्। “जसले वर्षौंदेखि देशको ढुकुटी दोहन गरे, उनीहरू अहिले डराएका छन्,” उनले लेखेका छन्, “प्रायोजित हल्लाले मलाई डगमगाउन सक्दैन, कारबाही निरन्तर अघि बढ्छ।”
यता, सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी दिपक भट्टसँग गुरुङको सम्बन्ध रहेको आरोप सार्वजनिक भएको छ। त्यस्तै, जेनजी आन्दोलनपछि ५० लाख रुपैयाँ बराबरको शेयर खरिद गरेको र त्यसलाई सम्पत्ति विवरणमा नदेखाएको विषय पनि चर्चामा छ। यी आरोपलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्रीको राजीनामा माग्दै छानबिनको माग गरेको छ।
गुरुङले भने आफू अनुसन्धानका लागि तयार रहेको दोहोर्याएका छन्। “माथि लागेका सबै आरोपको छानबिन होस्, म पूर्ण सहयोग गर्न तयार छु,” उनले यसअघि पनि बताएका थिए।































प्रतिक्रिया