काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजनीतिक दलहरूले जनताको विश्वास गुमाएपछि त्यसलाई पिंढीमा बसेर गरिने कुराकानी वा गफले मात्र फर्काउन नसकिने बताएका छन्।
उनका अनुसार जनताको चाहना नबुझी सञ्चालन गरिएका राजनीतिक दलहरू वा “दुकान” जति नै सजाए पनि टिकाउ हुन सक्दैनन्। उनले विगतका गल्ती स्वीकार नगरी, आत्मसमीक्षा नगरी र व्यवहार नबदली सुधार सम्भव नहुने बताएका छन्।
भण्डारीले राजनीतिक दलहरूबीच कोसँग मिल्ने वा न मिल्ने भन्ने बहसभन्दा पनि जनतासँग टुटेको सम्बन्ध जोड्ने विषय मुख्य हुनुपर्ने बताएका छन्। उनका अनुसार जनताको विश्वास गुम्नु नै अहिलेको सबैभन्दा ठूलो राजनीतिक समस्या हो।
उनले नेतृत्व परिवर्तन र नयाँ पुस्तालाई अवसर दिनुपर्ने आवश्यकता पनि औँल्याएका छन्। पुरानै शैली, पुरानै सोच र पुरानै अभ्यासले अब परिणाम नदिने उनको भनाइ छ।
साथै उनले राजनीतिक संस्कृतिमा देखिने चाकडी प्रवृत्तिलाई पनि आलोचना गरेका छन्। उनका अनुसार यस्तो प्रवृत्ति दीर्घकालीन रूपमा राजनीतिक प्रणालीका लागि हानिकारक हुन्छ।
भण्डारीको निष्कर्ष छ— जनताको विश्वास फर्काउन भाषण वा गफ होइन, व्यवहार, इमानदारी र वास्तविक सुधार आवश्यक छ।





























प्रतिक्रिया