मन्त्रिपरिषद् बैठकले के-के गर्‍याे निर्णय ?

मन्त्रिपरिषद् बैठकले के-के गर्‍याे निर्णय ?

केन्द्रबिन्दु
4.63k
Shares

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेकाे मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणकर भट्टको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए।

समितिको सदस्यहरूमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र भुवनकुमार दाहाल रहेका छन् । यो समितिले बोर्डको नेतृत्वका लागि उपयुक्त उम्मेदवारहरूको नाम छनोट गरी सरकारलाई सिफारिस गर्ने जिम्मेवारी पाएको छ ।

यसैगरी, मन्त्रिपरिषद्ले कानुनी र प्रशासनिक सुधारका लागि विभिन्न महत्त्वपूर्ण विधेयकहरूलाई संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।

बैठकले नेपाल विशेष सेवा ऐन २०४२, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ र मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेका विधेयकहरूलाई सदनमा दर्ता गर्न अनुमति दिएको हो । यी विधेयकहरूको संशोधनले आगामी निर्वाचन प्रक्रिया र विशेष सेवाका कार्यहरूलाई थप व्यवस्थित बनाउने लक्ष्य राखिएको छ ।

बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको रिक्त पदहरूमा पनि नियुक्ति गरेको छ । जसअनुसार समितिको अध्यक्ष पदमा प्युठानका डिल्लीराज आचार्यलाई नियुक्त गरिएको छ भने सदस्यहरूमा धादिङका नवराज ढुंगाना र ललितपुरका रोशन बहादुर शाक्यलाई मनोनयन गरिएको मन्त्री डा. तिमिल्सिनाले जानकारी दिए।

Logo