काठमाडौँ। राष्ट्रिय समाचार समिति (रासस)ले प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी सम्पूर्ण समाचार सामग्री समेटिएको विस्तृत प्रतिवेदन निर्वाचन आयोगलाई हस्तान्तरण गरेको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई रासस अध्यक्ष उदयबहादुर रानामगरले प्रतिवेदन बुझाएका हुन्। उक्त प्रतिवेदनमा निर्वाचनसँग सम्बन्धित समाचार, अन्तर्वार्ता, तस्बिर तथा श्रव्य–दृश्य सामग्री समेटिएको छ।
राससका अनुसार एक हजारभन्दा बढी पृष्ठको उक्त प्रतिवेदनमा विभिन्न भाषामा प्रकाशित सामग्री र १,४०० भन्दा बढी तस्बिर समावेश छन्।
निर्वाचन प्रक्रियाको प्रारम्भिक तयारीदेखि मतदानसम्मको सम्पूर्ण गतिविधिलाई व्यवस्थित रूपमा अभिलेखित गर्न राससले छुट्टै निर्वाचन डेस्क सञ्चालन गरेको थियो। मतदान मितिभन्दा १०० दिन अघिदेखि नै ‘काउन्टडाउन’ अभियानमार्फत नियमित सामग्री प्रकाशन गरिएको थियो।
कार्यक्रममा निर्वाचन आयोगका पदाधिकारी र राससका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो। उनीहरूले निर्वाचन प्रक्रिया अभिलेखीकरणमा सञ्चारमाध्यमको भूमिकालाई महत्वपूर्ण रहेको बताएका छन्।




















