टेन्डरबाहेक सरकारी सूचना निजीक्षेत्रलाई दिने मुख्यमन्त्री बानियाँको घोषणा

टेन्डरबाहेक सरकारी सूचना निजीक्षेत्रलाई दिने मुख्यमन्त्री बानियाँको घोषणा

केन्द्रबिन्दु
9
Shares

काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सरकारी सूचना र विज्ञापन वितरण प्रणालीमा नयाँ नीति लागू गर्ने घोषणा गर्दै टेन्डरसम्बन्धी सूचनाबाहेक सबै प्रकारका सरकारी सूचना निजीक्षेत्रका सञ्चारमाध्यमलाई समेत उपलब्ध गराइने बताएका छन्।

नेपाल पत्रकार महासंघको आन्दोलनका क्रममा मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउन पुगेको प्रतिनिधिमण्डलसँग प्रतिक्रिया दिँदै उनले लोकतन्त्रको मर्मअनुसार राज्य र निजीक्षेत्र सँगसँगै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। उनले सरकारी सूचना वितरणमा एकपक्षीय नीति अपनाइए सञ्चार क्षेत्र प्रभावित हुने भन्दै यसलाई सच्याउनुपर्ने धारणा व्यक्त गरे।

मुख्यमन्त्री बानियाँले यस विषयमा संघीय सरकारसँग पनि छलफल भएको उल्लेख गर्दै प्रधानमन्त्रीलाई समेत निजीक्षेत्रको भूमिकाबारे जानकारी गराइएको बताए। उनका अनुसार संघीय सरकारले सरकारी टेन्डरबाहेकका विज्ञापन तथा सूचनामा निजी सञ्चारमाध्यमलाई सहभागी गराउने विषयमा सकारात्मक संकेत दिएको छ।

प्रदेश सरकारभित्र पनि यस सम्बन्धी स्पष्ट निर्देशन जारी गरिएको उनले जानकारी दिए। सबै मन्त्रालय, विभाग तथा निकायलाई टेन्डरबाहेकका सूचना तथा विज्ञापन निजीक्षेत्रका सञ्चारमाध्यममार्फत प्रवाह गर्न मुख्यसचिवमार्फत निर्देशन दिइएको उनले बताए।

मुख्यमन्त्री बानियाँले सरकारी सूचना प्रणाली पारदर्शी र प्रतिस्पर्धी बनाउन निजीक्षेत्रको सहभागिता आवश्यक रहेको बताए। उनका अनुसार हालसम्म केही क्षेत्रमा सूचना प्रवाह सीमित हुँदा सञ्चार क्षेत्र र सरकारी निकायबीच असन्तुलन देखिएको थियो, जसलाई सुधार गर्न यो निर्णय महत्वपूर्ण हुने विश्वास लिइएको छ।

उनले सरकारी टेन्डर प्रक्रिया भने यथावत् नियमअनुसार मात्र सञ्चालन हुने स्पष्ट पार्दै त्यसबाहेकका अन्य सूचना, सूचना अभियान तथा विज्ञापन निजीक्षेत्रका सञ्चारमाध्यमले समान रूपमा पाउने व्यवस्था मिलाइने बताए।

Logo