सुकुम्बासी बस्तीकाले नियम पालना गरे भनेर उत्सव मनाउनु पर्याप्त होइन -शंकर पोखरेल

सुकुम्बासी बस्तीकाले नियम पालना गरे भनेर उत्सव मनाउनु पर्याप्त होइन -शंकर पोखरेल

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विस्थापित श्रमिक र सुकुम्बासी बस्तीका नागरिकप्रति मानवीय व्यवहार अपनाउँदै न्यायोचित समाधान दिन सरकारलाई आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले अदृश्य त्रास र आतंकको छायाँमा आदेश पालना गराइएको भन्दै त्यसलाई मात्र उपलब्धि ठान्न नहुने बताएका हुन्। उनले वर्षौंदेखि बसोबास गर्दै आएका श्रमिकहरूको पीडा, आँखा र अनुहारमा देखिएको वेदना पनि राज्यले बुझ्नुपर्ने उल्लेख गरेका छन्।

पोखरेलले शहर निर्माणमा श्रमिक वर्गको ठूलो योगदान रहेको स्मरण गराउँदै उनीहरूकै श्रम र पसिनाले सडक, बजार तथा बस्ती विकास भएको बताए। यस्तो अवस्थामा उनीहरूलाई बस्तीबाट हटाउँदा केवल नियम पालना भएको उत्सव मनाउनु पर्याप्त नहुने उनको भनाइ छ।

पूर्ववर्ती सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधानका लागि कानुनी व्यवस्था गरेर भूमि आयोगमार्फत प्रक्रिया अघि बढाएको दाबी गर्दै उनले जनताको मतबाट निर्वाचित नेतृत्वले समस्याग्रस्त नागरिकको विश्वास र भरोसालाई सम्मान गर्नुपर्ने बताएका छन्।

उनले तत्काल मानवीय व्यवहारसहित सम्मानजनक विकल्प प्रदान गर्न आग्रह गर्दै विश्वास टुटेका नागरिकको असन्तोष विस्फोटक बन्न सक्ने चेतावनीसमेत दिएका छन्।

Logo