काठमाडाैं । नेपाली काँग्रेस वि.सं.२००३ मा स्थापना भएको नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक राजनीतिक दल हो । बी.पी. कोइराला जस्ता दूरदर्शी नेताहरूको नेतृत्वमा यो दलले निरंकुश शासनविरुद्ध संघर्ष गर्दै लोकतन्त्रको आधार निर्माण गर्यो । यो पार्टी केवल राजनीतिक संगठन मात्र नभई नेपालको लोकतान्त्रिक आन्दोलनको प्रतीकका रूपमा उभिएको छ । तथापि, यसको लामो यात्रामा उपलब्धि र कमजोरी दुबै पक्षहरू समान रूपमा देखिन्छन्, जसले नेपालको समग्र राजनीतिक विकासलाई प्रभावित पारेको छ ।
८० वर्षे इतिहासमा सम्भवत काँग्रेस यतिवेला सबैभन्दा कठिन मोडमा रहेको छ । एकातिर राष्ट्रिय राजनीतिमा काँग्रेसको हैसियत कमजोर भएको छ भने अर्काेतिर पार्टी विभाजनको संघारमा छ । सर्वाेच्च अदालतले गगन थापाको नेतृत्वलाई मान्यता दिएको छ । तर, शेरबहादुर देउवा पक्षले त्यसलाई स्वीकार गरिसकेको छैन् । थापाले देउवा पक्षलाई राम्रोसँग नसमेटे पार्टी विभाजन समेत हुनसक्छ । आजको भिडियोमा त तपाईहरुलाई काँग्रेसको ८० वर्षे इतिहासको उतारचढावबारे बुँदागत रुपमा तपाईहरुसँग कुरा गर्नेछु ।
काँग्रेसका प्रमुख योगदान
⦿ राणा शासन अन्त्य र प्रजातन्त्र स्थापना
काँग्रेसले १०४ वर्षसम्म चलेको जहानियाँ राणा शासन अन्त्य गर्न सशक्त आन्दोलनको नेतृत्व गर्यो । त्यस समय नेपालमा जनताको कुनै अधिकार थिएन, शिक्षा, प्रशासन र शासन सबै सीमित वर्गमा केन्द्रित थियो । काँग्रेसले सशस्त्र विद्रोह, जनआन्दोलन र अन्तर्राष्ट्रिय समर्थनको कुशल संयोजन गर्दै २००७ सालमा प्रजातन्त्र स्थापनाको लागि निर्णायक भूमिका खेल्यो । यदि यो आन्दोलन सफल नभएको भए नेपाल अझ लामो समय निरंकुश शासनमा रहन सक्थ्यो । २००३ सालमा भारतमा गठन भएको काँग्रेसले ४ वर्षमा नै यति ठूलो आन्दोलनको नेतृत्व गर्नु आफैमा सामान्य घट्ना थिएन ।
⦿ लोकतान्त्रिक अभ्यासको सुरुवात
२०१५ सालमा भएको पहिलो आमनिर्वाचन नेपालमा लोकतान्त्रिक अभ्यासको ऐतिहासिक सुरुवात थियो । सो निर्वाचनमा काँग्रेसले १०९ सिटमध्ये ७४ सिट अर्थात दुई तिहाई सिट ल्यायो । बी.पी. कोइराला नेतृत्वमा निर्वाचित सरकार गठन भयो । यस अवधिमा कानुनी शासन, नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता र प्रशासनिक सुधारका प्रयास गरिए। यद्यपि सरकार छोटो समयमै समाप्त भयो, तर यसले लोकतान्त्रिक संस्कारको जग बसाल्यो ।
आजसम्मका हरेक सरकारले विपी कोइरालकै भिजनमा सरकारका नीति तथा कार्यक्रम तय गरे । विपीले शुरु गरेको समाजवाद आज सबै राजनीतिक दलहरुको साझा एजेण्डा बनेको छ । काँग्रेसले “प्रजातान्त्रिक समाजवाद” को अवधारणा अघि बढायो । यसको उद्देश्य आर्थिक समानता, सामाजिक न्याय र अवसरको समान वितरण थियो । भूमिसुधार, शिक्षा विस्तार, स्वास्थ्य सेवा सुधारजस्ता कार्यक्रमहरू सुरु गरिए। यद्यपि यी पूर्ण रूपमा सफल हुन सकेनन्, तर नेपालमा सामाजिक न्यायको बहस सुरु गराउने श्रेय काँग्रेसलाई जान्छ । तर राजा महेन्द्रले विपी कोइरालको दुई तिहाईको सरकारलाई नै हटाए ।
⦿ २०४६ सालको जनआन्दोलन
निरंकुश पञ्चायती व्यवस्था अन्त्य गर्न २०४६ सालमा भएको जनआन्दोलनमा काँग्रेसले अग्रणी भूमिका खेल्यो । त्यतिबेला विभिन्न राजनीतिक शक्तिहरूलाई एकताबद्ध गरेर आन्दोलनलाई व्यापक बनाइयो । अन्तर्राष्ट्रिय समुदाय, विशेषगरी भारत लगायत देशहरूको समर्थन जुटाउन पनि काँग्रेस सफल भयो । परिणामस्वरूप बहुदलीय लोकतन्त्र पुनर्स्थापित भयो । त्यतिवेला काँग्रेसकै पहलमा नेपालको राजनीतिक आन्दोलनलाई सफल पार्नका लागि भारतबाट उच्च राजनीतिज्ञहरु समेत नेपाल आए र आन्दोलनमा समर्थन जनाए । अन्य राजनीतिक दलले यस्तो अन्तरराष्ट्रिय सहयोग प्राप्त गर्ने अबस्था हुने थिएन् ।
⦿ शान्ति प्रक्रिया र द्वन्द्व समाधान
१० वर्षे माओवादी द्वन्द्वले नेपाललाई गम्भीर संकटमा पुर्याएको थियो । यस अवस्थामा गिरिजाप्रसाद कोइरालाले माओवादी पक्षसँग वार्ता गरी शान्ति प्रक्रियालाई अगाडि बढाए । काँग्रेसको विश्वसनीयता र अन्तर्राष्ट्रिय सम्बन्धका कारण शान्ति सम्झौता सम्भव भयो जसले गर्दा १० वर्षे हिंसात्मक माओवादी आन्दोलनको अवतरण भयो । यसले देशलाई गृहयुद्धबाट शान्तिपूर्ण राजनीतिक प्रक्रियामा ल्यायो । राजाको प्रत्यक्ष शासनविरुद्ध २०६२/६३ को जनआन्दोलनमा काँग्रेसले निर्णायक नेतृत्व गर्यो । यस आन्दोलनले राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्यो। विभिन्न राजनीतिक दलहरूलाई एक ठाउँमा ल्याउने क्षमता काँग्रेसले देखायो, जसले ऐतिहासिक परिवर्तन सम्भव बनायो ।
⦿ संविधान निर्माण
पहिलो संविधानसभाबाट संविधान बन्न नसकेको अवस्थामा दोस्रो संविधानसभामा काँग्रेस निर्णायक शक्तिका रूपमा आयो । यसले विभिन्न दलहरूबीच सहमति कायम गर्दै नयाँ संविधान जारी गर्न नेतृत्व गर्यो । नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न यो ठूलो उपलब्धि मानिन्छ । २०७२ सालमा तत्कालिन काँग्रेसका सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाले लिएको दृढ अडानका कारण नै अनेक प्रतिकुलताका बाबजुद पनि संविधा निर्माण सम्भब भयो । काँग्रेस बाहेक अन्य राजनीतिक दलको नेतृत्वमा नयाँ संविधान निर्माणको सम्भावना एकदमै न्यून थियो ।
काँग्रेसकै कारण देशलाई भएको क्षति
⦿ २००७ लगत्तै गुमेको अवसर
पार्टी स्थापना भएको केही समयमै बी.पी. कोइराला र मातृकाप्रसाद कोइराला बीच विवाद सुरु भयो । यो विवाद वैचारिक भन्दा पनि नेतृत्व र पदको टसल थियो । यसले पार्टीलाई कमजोर बनायो र राष्ट्रिय आन्दोलनको एकतालाई असर गर्यो । अनि यही विवादका कारण राजतन्त्र बलियो हुँदै गयो । प्रजातन्त्र स्थापना भएपछि देशलाई स्थायित्व दिने अवसर काँग्रेससँग थियो । तर, आन्तरिक विवादका कारण सरकार अस्थिर भयो । २००७ सालदेखि २०१५ सालसम्म केही पनि प्रगती भएन् । संविधान निर्माणमा ढिलाइ भयो र राजनीतिक संरचना मजबुत हुन सकेन। यसले पछि राजतन्त्रलाई पुनः सशक्त हुने अवसर दियो ।
⦿ २०५१ सालः अस्थिरताको सुरुवात
२०४६ सालको आन्दोलनको शशक्त नेतृत्व गरेकै कारण नेपाली जनताले काँग्रेसलाई २०४८ सालको निर्वाचनमा वहुमत दिए तर त्यो सरकार ३ वर्षभन्दा बढी टिक्न सकेन् । गिरिजाप्रसाद कोइरालाको संसद् विघटन गर्ने निर्णयले नेपालमा राजनीतिक अस्थिरताको ढोका खोल्यो । यसपछि सरकार परिवर्तनको श्रृंखला सुरु भयो, जसले दीर्घकालीन अस्थिरता निम्त्यायो । नेपालमा लामो राजनीतिक अस्थिरताको दोष काँग्रेसलाई नै जान्छ । यदि काँग्रेसले २०४८ सालमा पाएको म्यान्डेटलाई राम्रोसँग सम्हालेको भएको देशले आर्थिक समृद्धिको बाटो सम्हालिसकेको हुने थियो ।
⦿ २०५६ सालको म्यान्डेटको दुरुपयोग
२०४८ सालको म्यान्डेटलाई सम्हाल्न नसकेको काँग्रेसलाई २०५६ सालको संसदीय निर्वाचनमा वहुमतसहित अर्काे अवसर दिए । तर, पार्टीभित्रको आन्तरिक विवादका कारण पार्टीले सो म्यान्डेटलाई समेत सदुपयोग गर्न सकेन् । विशेषत गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईको बिचमा तिब्र विवाद उत्पन्न भयो । राजनीतिक अस्थिरता र कमजोर सरकारका कारण राजतन्त्रले पुनः शक्ति प्राप्त गर्ने मौका पायो। २०५९ र २०६१ मा राजाले शासन आफ्नो हातमा लिन सके, जसको एउटा प्रमुख कारण दलहरूको कमजोरी थियो, जसमा काँग्रेस पनि जिम्मेवार देखिन्छ ।
⦿ शीर्ष नेताहरुको दुःखद् बर्हिगमन
यस अवधिमा काँग्रेसभित्रको विवाद यसरी चर्कियो कि पार्टीका शीर्ष नेताहरुले नै पार्टी त्याग गर्नुपर्ने अवस्थाको सिर्जना भयो । काँग्रेसका शीर्ष नेताहरु गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले पार्टी नै त्यागे । त्यसले काँग्रेसलाई मात्र होइन,देशलाई नै ठूलो घाटा भयो । किनभने यसले शासनप्रति जनविश्वास कमजोर बनायो र दलको पोजिसन नै कमजोर भयो । काँग्रेस आजको कमजोर अबस्थामा आईपुग्नुको मुख्य कारण यो पनि हो ।
⦿ राजतन्त्रलाई टाउको उठाउने मौका काँग्रेसले नै दियो
विशेषतः २०५१ साल यताका काँग्रेसका प्रत्येक गतिविधिहरु राजतन्त्रलाई सक्रिय हुने वातावरण बनाइरहेको थियो । जनताले दिएको म्यान्डेट अनुसार राम्रोसँग सरकार संचालन नगर्दा राजतन्त्रले टाउको उठाउने र प्रश्न गर्ने मौका पायो । यदि काँग्रेसले जनताको म्यान्डेट अनुसार ५ वर्षको स्थीर सरकार संचालन गरेको भए देशको आर्थिक समृद्धि र विकासको बाटो समात्ने थियो र राजतन्त्रले राजनीतिमा हस्तक्षेप गर्ने मौका पाउने थिएन ।
निष्कर्ष
काँग्रेस नेपालको लोकतान्त्रिक इतिहासको केन्द्रबिन्दु हो । यसको योगदानबिना प्रजातन्त्र, गणतन्त्र र संविधान निर्माणको कल्पना गर्न गाह्रो हुन्छ । तर, त्यही पार्टीको आन्तरिक कमजोरी, गुटबन्दी र अस्थिर नेतृत्वले देशलाई बारम्बार राजनीतिक संकटमा धकेलेको पनि यथार्थ हो । काँग्रेसले देश बनाउने काम पनि गर्यो । र, आफ्नै कमजोरीले देशलाई रोक्ने काम पनि गर्यो । अब काँग्रेसको भविष्य के होला ? उसले आफूलाई सुदृढ बनाएर फेरि राष्ट्रिय राजनीतिको मियो बन्ला कि कमजोर भएर जाला ? त्यो त भविष्यले नै देखाउनेछ ।































प्रतिक्रिया