काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा न्यायाधीश डा. मनोजकुमार शर्मा सिफारिस भएका छन् ।
प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा आज बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा शर्माको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि न्यायपरिषदले प्रधानन्यायाधीशका लागि ६ जनाको नाम सिफारिस गर्दा डा. शर्मा पनि परेका थिए ।
प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षे उमेर हदका कारण गत चैत १८ गतेदेखि अवकाशमा गएपछि उक्त पद रिक्त रहेको छ । राउतको अवकाशपछि सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कायममुकायम प्रधान न्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी छन्। न्याय परिषद्ले कामु प्रधानन्यायाधीश मल्लसहित कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम संवैधानिक परिषद्मा पठाएको थियो।
तर योपटक वरिष्ठताको परम्परा तोडिएको छ । वरिष्ठताको क्रममा मल्ल नै अघि थिइन् । तर सरकारले राष्ट्रपतिसमक्ष शर्मा सिफारिस गरेको हो । शर्मा अब पूर्ण कार्यकाल अर्थात छ वर्ष प्रधानन्यायाधीश हुनेछन् । नेपालको न्यायिक इतिहासमा २०४७ सालको राजनीतिक परिवर्तनपछि कुनैपनि प्रधानन्यायाधीशले छ वर्षे पदावधि पुरा गर्न पाएका छैनन्, ६५ वर्षे उमेरहदबाटै अवकाश भएका छन् ।





























प्रतिक्रिया