कांग्रेस एकता टाढिँदै, नेताहरूबीच अविश्वास बढ्दै

कांग्रेस एकता टाढिँदै, नेताहरूबीच अविश्वास बढ्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन र इतरपक्षबीचको अविश्वास र आरोप–प्रत्यारोपका कारण पार्टी एकता प्रयास संकटमा परेको छ। इतरपक्षले एकता नभए वैकल्पिक पार्टी बनाउने चेतावनी दिँदै सातै प्रदेशमा भेला गर्दैछ भने सदस्यता अद्यावधिक र महाधिवेशनको निष्पक्षता मुख्य विवाद बनेका छन्।

दुवै पक्षले एकता प्रयास जारी राखेको दाबी गरे पनि आपसी संवाद र सहमतिमा प्रगति नहुँदा कार्यकर्ता अन्योलमा परेका छन्। जेठ मसान्तभित्र एकता गराउन इतरपक्षले दिएको ‘अल्टिमेटम’ सकिनै लाग्दा सभापति गगन थापा र इतरपक्षका नेता पूर्णबहादुर खड्काबीच नै अविश्वास बढेको छ।

जेठ मसान्तभित्र एकता नभए वैकल्पिक पार्टी बनाउने योजना इतरपक्षीय नेताहरूले अघि सारेका छन्। चार प्रदेशमा भेला गरिसकेको इतरपक्षले आगामी शनिबार मधेश र आइतबार कोशी प्रदेशमा भेला गर्दै छ। लुम्बिनीमा मिति तय भएको छैन। सातै प्रदेशमा सकिएपछि राजधानीमा राष्ट्रिय भेला राखेर ‘वैकल्पिक’ बाटो तय गरिने इतरपक्षीय नेताहरूको भनाइ छ। नेता बिमलेन्द्र निधिका अनुसार इतरपक्षमा जेठ मसान्तपछि एकताका लागि प्रतीक्षा नगर्ने समझदारी छ।

एकता प्रयासमा सभापति थापा नै गम्भीर नभएको गुनासो पूर्वकार्यवाहक सभापति खड्काको छ। उनले २२ वैशाखपछि सभापति थापासँग कुनै पनि माध्यमबाट आफ्नो सम्पर्क हुन नसकेको बताएका छन्।

सामाजिक सञ्जालमा आइतबार स्टाटस लेख्दै खड्काले ३१ दिनदेखि सभापति थापासँग सम्पर्क हुन नसकेको र पार्टी एकतामा कुनै प्रगति नभएको उल्लेख गरेका थिए।

सभापति थापासाग एक महिनादेखि सम्पर्क नभएको पूर्वकार्यवाहक सभापति खड्काको अभिव्यक्ति, थापाकै परामर्शमा आफूले चरणबद्ध संवाद गरिरहेका बेला यस्तो अभिव्यक्ति आउँदा अचम्म लागेको उपसभापति शर्माको भनाइउपसभापति विश्वप्रकाश शर्माले खड्काको भनाइबाट आफू ‘अचम्मित’ भएको प्रतिक्रिया दिएका छन्। उनले पार्टी एकताकै लागि आफ्नै मोबाइलबाट १६ जेठमा ७ बुँदाको प्रस्ताव खड्कालाई पठाइएको पनि जानकारी दिएका छन्। ७ बुँदे प्रस्ताव सभापति थापासँगै बसेर तयार पारिएको थियो।

खड्काले सहमतिका लागि तयार पारिएको सात बुँदा अहिल्यै खुलाउन नमिल्ने बताए। एक नेताका अनुसार त्यसमा केन्द्रीय कार्यसमितिमा मनोनयन संख्या, महाधिवेशन तयारी समिति, क्रियाशील सदस्यता अद्यावधिकदेखि सदस्यता छानबिन, निर्वाचन, अनुशासन समितिमा सहभागितालगायतका विषय समावेश छन्।

खड्कासँगको बैठकपछि उपसभापति शर्माले २४ जेठमा सभापति थापासँग छलफल गरेका थिए, जसअनुसार यसै साता सहमति जुटाउने पहलकदमी भइरहेको थियो। खड्काले पनि आफ्नो समूहका नेताहरूसँग संवाद गरेका थिए। उनी निकटस्थ केही नेताहरूका अनुसार सिंगापुरमा रहेका पूर्वसभापति शेरबहादुर देउवालाई समेत यसबारेमा जानकारी गराइएको थियो। इतरपक्षले देउवासँगकै परामर्शमा एकताको मोडल अघि सार्दै आएको थियो।

सभापति थापासँग भने खड्काको पछिल्लो भेट २२ वैशाखमा भएको थियो। खड्कालाई भेटेकै दिन थापाले अर्का नेता शेखर कोइरालालाई पनि भेटेका थिए। पार्टी एकताको पक्षमा आफूले गरिरहेको पहलकदमी पनि थापाकै सल्लाहबमोजिम भइरहेको उपसभापति शर्माको भनाइ छ।

विशेष महाधिवेशनलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयलाई नै सर्वोच्च अदालतले ४ वैशाखमा सदर गरेपछि ६ वैशाखमा थापाले खड्कालाई भेटेर एकताको पहल थालेका थिए। थापाले खड्कालाई विशेष महाधिवेशनपछि पहिलोपल्ट भेटेको त्यही बेला हो। त्यसपछि खड्का र कोइराला समूहका १९ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको थियो। पछिल्लो समय नेताहरूको व्यवस्थापनका लागि विभिन्न मोडलमा छलफल भइरहेका बेला खड्काबाट आएको धारणाले वातावरण बिग्रिएको संस्थापनपक्षीय नेताहरूको भनाइ छ।

इतरपक्षीय नेता निधिले १० पुस २०८२ सम्म नवीकरण भएकालाई कायम राखेर त्यति बेला छुट र अन्य दलबाट आएकाहरूलाई सदस्यता दिइनुपर्ने पहिलो सर्त रहेको बताए। दोस्रोमा, विशेष महाधिवेशन र १४ औं महाधिवेशनको केन्द्रीय कार्यसमिति समायोजनको विषय रहेको उनको भनाइ छ। समायोजन गर्दा जो जुन पदमा छ, त्यसैमा समायोजन हुनुपर्ने सर्त इतरपक्षको छ। १४ औं महाधिवेशनपछि शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिमा रहेका १ सय ९ नेता अहिले बाहिर छन्।

समायोजन भइसकेपछि मात्रै महाधिवेशनसँग सम्बन्धित निर्णय गर्नुपर्ने, महाधिवेशन तयारीका लागि संवेदनशील रहेका छानबिन, निर्वाचन र अनुशासन समिति सहमतिका आधारमा बनाइनुपर्ने माग आफूहरूको रहेको निधिले बताए।

पूर्वकार्यवाहक सभापति खड्काले क्रियाशील सदस्यता अद्यावधिकका लागि जिल्ला–जिल्लामा दबाब दिइएको भन्दै विरोध गरेका छन्। यो प्रवृत्ति पार्टी जीवनका लागि अत्यन्तै घातक रहेको उनको टिप्पणी छ। अर्कातर्फ सदस्यता अद्यावधिक नगराएका तर गत १० पुससम्म नवीकरण र नयाँ सदस्यता लिएका सबैलाई महाधिवेशनमा सहभागिताका लागि सुनिश्चित गरिने भनेर खड्काले दिएको अभिव्यक्तिले पनि संस्थापन पक्ष चिढिएको छ।

आगामी २ भदौमा वडा अधिवेशन सुरु गरेर १६–१९ असोजमा १५ औं केन्द्रीय महाधिवेशन गर्ने कांग्रेसको तालिका छ। क्रियाशील सदस्य तल्लो तहका मतदाता हुने भएकाले वडा अधिवेशन सुरु हुनु अगाडि नै यससम्बन्धी विवाद मिलाइसक्नुपर्ने हुन्छ । गत २७–३० पुसमा सम्पन्न विशेष महाधिवेशनबाट आएको थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले १ वैशाखदेखि क्रियाशील सदस्यता अद्यावधिक गर्ने अभियान चलाएको थियो। यसको समयसीमा २८ जेठसम्म छ।

नेताहरू खड्का र कोइरालाले महाधिवेशनका लागि ‘अद्यावधिक’ बाध्यकारी बनाउन नहुने अडान लिँदै आएका छन्। सदस्यतासम्बन्धी यो विवाद आसन्न महाधिवेशनको निष्पक्षतामाथि लक्षित देखिन्छ। इतरपक्षका नेता प्रकाशरण महत आन्तरिक एकताका लागि निष्पक्ष महाधिवेशनको सुनिश्चितता खोजिएको बताउँछन्।

तत्कालीन र विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिलाई समायोजन गर्न संस्थापन पक्ष तयार नभए महाधिवेशनको निष्पक्षताका लागि दुवै पक्षको सहभागितामा छुट्टै आयोजक समिति बनाउनुपर्ने उनको भनाइ छ। समायोजन र छुट्टै आयोजक समिति बनाउनुपर्ने मागमा संस्थापन पक्ष तयार छैन। संस्थापन पक्षका एक पदाधिकारीले मुद्दा मामिलामा मुछिएका, अनुशासन उल्लंघन गर्ने र चुनावमा अन्तर्घात गर्नेबाहेकलाई केन्द्रीय कार्यसमितिमा ल्याउन तयार रहेको बताए।

Logo