रास्वपा लमजुङको निर्वाचन रद्द गर्न ३ उम्मेदवारको केन्द्रीय निर्वाचन आयोगमा उजुरी

रास्वपा लमजुङको निर्वाचन रद्द गर्न ३ उम्मेदवारको केन्द्रीय निर्वाचन आयोगमा उजुरी

केन्द्रबिन्दु
3
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङको निर्वाचन रद्द गर्न र सभापतिमा निर्वाचित व्यक्तिको पद खारेज गर्न केन्द्रीय निर्वाचन आयोगमा उजुरी परेको छ ।

सभापति पदका उम्मेदवारहरु हरिबहादुर धिताल, विजय रन्जन पौडेल र नवराज पहाडीले सभापति पदमा निर्वाचित भनिएका अशोक सापकोटाको पद रद्द गरी पुनः निर्वाचन गर्न माग गरेका हुन् ।

जेठ २४ गते लमजुङ जिल्ला अधिवेशनमा जिल्ला समितिका अन्य पदहरूको अलावा जिल्ला सभापति पदमा जम्मा ५ जनाको उमेदवारी कायम भएको र सभापति पदमा भएको निर्वाचन अवैधानिक भएको भन्दै उनीहरुले उजुरी गरेका हुन् ।

पार्टीको विधान २०७९ (तेश्रो संशोधन सहित)को धारा ३३ उपधारा १ (ख) अनुसार, सभापतिको निर्वाचनमा विजयी उम्मेदवारले सदर मतको ५०.५% मत ल्याउनु पर्ने वा बढी मत कटाउनेबीच पुनः निर्वाचन हुने व्यवस्था उल्लंघन भएको भन्दै निर्वाचन रद्द गर्न माग भएको हो ।

निर्वाचन समिति प्रमुखका रुपमा खटाइएकी रास्वपा गण्डकी प्रदेशका सहमहामन्त्री कृष्णकुमारी अधिकारी (अनिशा)ले कुल सदर मत १७४ को जम्मा ६९ मत अर्थात मतको कुल ३९.६% मात्र प्राप्त गरेका अशोक सापकोटालाई पार्टी विधान र निर्वाचन कार्यविधिका विपरीत गैरकानुनी रुपमा सभापति पदमा निर्वाचित भएको घोषणा गरेको उनीहरुको आरोप छ ।

अनिशाले जेठ २५ गते बिहान ११ बजे पुनः निर्वाचन हुने भनेर जानकारी दिइएको र सभापति पदका अन्य ४ जना उम्मेदवारको कुनै सहमति नलिई एकतर्फी सापकोटा जिल्ला सभापति भएको घोषणा गरी शपथ खुवाउने काम भएको उनीहरुको आरोप छ ।

Logo