गृह मन्त्रालय हरेक चेलीको लागि माइती हो -मन्त्री सुधन गुरुङ

गृह मन्त्रालय हरेक चेलीको लागि माइती हो -मन्त्री सुधन गुरुङ

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयलाई प्रत्येक नागरिक, विशेषगरी महिलाहरूका लागि भरोसायोग्य संस्थाका रूपमा स्थापित गर्न चाहेको बताएका छन् ।

बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले हरेक नागरिकको सुरक्षा र सेवाका लागि सरकार प्रतिबद्ध रहेको र प्रहरी संगठन अहिले पहिलेभन्दा बढी प्रभावकारी रूपमा काम गरिरहेको दाबी गरे।

उनले भने, ‘पहिलेको सरकारले गरेको राम्रा कामलाई प्रोत्साहन गरेर त्यसमा भएको कमी कमजोरीलाई पूर्ण गरि त्यसलाई पनि निरन्तरता दिदैछौ । गृहमन्त्रालय हरेक चेलीको लागि माइती हो भनी सोच्नुपर्छ। हरेक नारीको लागि हामी आफ्नो परिवार भएर उभिन चाहान्छौं । हामी हरेक नागरिकको सुरक्षा र सेवाको लागि काम गर्छौ पहिला भन्दा अहिले प्रहरी पनि प्रभावकारीरुपमा काम गरिरहेको छ।’

अपराध नियन्त्रणका विषयमा उच्च प्रहरी अधिकारीहरूसँग नियमित छलफल भइरहेको जानकारी दिँदै उनले कानून कार्यान्वयनमा कुनै राजनीतिक पक्षपात नहुने स्पष्ट पारे। गलत कार्य गर्ने व्यक्ति जुनसुकै दल वा समूहसँग सम्बन्धित भए पनि कानूनी कारबाहीको दायरामा ल्याइने उनको भनाइ थियो।

उनले सुरक्षा निकायका अधिकारीहरूको कार्यसम्पादनलाई नजिकबाट मूल्यांकन गरिने र जिम्मेवारीअनुसार काम गर्न नसक्ने अधिकारीमाथि आवश्यक कदम चालिने चेतावनी दिए। साथै राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने र बढुवालाई पूर्ण रूपमा कार्यसम्पादनमा आधारित बनाइने नीति अवलम्बन गरिएको बताए।

मन्त्री गुरुङले विगतमा बढुवाका क्रममा राजनीतिक दबाब, पहुँच र चलखेल हुने गरेको चर्चा गर्दै अब त्यस्ता अभ्यासलाई अन्त्य गरी कर्मचारीको क्षमता, इमान्दारिता र कार्यसम्पादनका आधारमा मात्रै पदोन्नति गरिने निर्देशन दिइएको जानकारी दिए।

Logo