काठमाडौंसँग बेइजिङ के चाहन्छ ? [भिडियोसहित]

काठमाडौंसँग बेइजिङ के चाहन्छ ? [भिडियोसहित]


काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले हालै चीनको औपचारिक भ्रमण सम्पन्न गरेका छन् । खनालको यो भ्रमण कूटनीतिक सन्तुलन र आर्थिक विकासका दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण छ ।

भारत भ्रमणलगत्तै भएको यस बेइजिङ भ्रमणलाई विश्व समुदायले नेपालको दुवै छिमेकी मुलुकहरूसँग सन्तुलित सम्बन्ध कायम राख्ने प्रयासका रूपमा हेरेको छ । खनाल भारत लगत्तै चीन भ्रमणमा गएका कारण पनि यसले अन्तराष्ट्रिय रुपमै निक्कै चर्चा पाएको देखिन्छ । उसो त खनालको भ्रमणको पूर्वसन्ध्यामा उच्च अमेरिकी अधिकारीहरुले नेपालको भ्रमण गरेका थिए । भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यी र चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी)का अध्यक्ष वाङ हुनिङसँग भएका उच्चस्तरीय भेटवार्ताहरूले दुई देशबीचको हजारौँ वर्ष पुरानो मैत्रीपूर्ण सम्बन्ध, पञ्चशीलका सिद्धान्त र आपसी हितका विषयहरूलाई पुनः सुदृढ गर्ने काम गरेका छन् ।

चीनले नेपाललाई दिएका पाँच सन्देश

चीनले आफ्ना शीर्ष नेताहरू मार्फत नेपालको नयाँ सरकार, यहाँका जनता र कूटनीतिक प्राथमिकताहरूलाई लक्षित गर्दै निम्न पाँचवटा मुख्य सन्देशहरू दिएको छ-

छिमेकी कूटनीतिमा नेपाललाई उच्च प्राथमिकता र स्थायी मैत्रीपूर्ण नीतिः चिनियाँ विदेशमन्त्री वाङ यीले अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको आन्तरिक राजनीतिमा जस्तोसुकै परिवर्तन आए पनि चीनले आफ्नो छिमेकी कूटनीतिको कार्यसूचीमा नेपाललाई सधैं उच्च प्राथमिकतामा राखेको स्पष्ट पारेका छन् । चीनको यो मैत्रीपूर्ण नीति कुनै निश्चित शक्तिप्रति नभएर सम्पूर्ण नेपाली जनताप्रति लक्षित र स्थायी देखिन्छ । विदेशमन्त्री वाङ यीले नेपाललाई लक्षित गर्दै टाढाको आफन्त भन्दा नजिकको छिमेकी महत्वपूर्ण हुने सन्देश दिएका छन् । त्यसैगरी चीनले नेपालमा बढ्दो अमेरिकी प्रभावले आफ्नो सुरक्षामा असर गर्न सक्नेबारे सचेत पनि गराएको छ ।

सार्वभौमिकताको रक्षा र आन्तरिक मार्गको सम्मानः चीनले नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षाका लागि सधैं दृढ समर्थन गर्ने सन्देश दिएको छ । साथै, नेपालले आफ्नो राष्ट्रिय यथार्थ र परिस्थिति अनुकूल तय गर्ने विकासको मार्गलाई चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । चीनले नेपाललाई कुन कुन क्षेत्रमा सहयोग खोजेको हो, लिष्ट लिएर आउन आग्रह गरेको छ । चीनको तिव्र आर्थिक विकासबाट कसरी फाइदा लिने अब त्यसको रोडम्याप तयार पार्ने जिम्मा नेपालकै हो ।

उच्च गुणस्तरको बीआरआई सहयोग र ‘भू–जडित’ देशमा रूपान्तरणः चीनले नेपालसँग उच्च गुणस्तरको ‘बेल्ट एण्ड रोड’ (बीआरआई) सहयोगलाई संयुक्त रूपमा अगाडि बढाउन चाहेको छ। पावर ग्रिड अन्र्तगत चिलिमे–केरुङ प्रसारण लाइन, राजमार्ग, सीमा नाका र उड्डयन क्षेत्रको सहकार्य मार्फत नेपाललाई भूपरिवेष्ठित राष्ट्रबाट भू–जडित देशमा रूपान्तरण गर्न चीन भरपर्दो साझेदार रहने सन्देश दिएको छ । सन् २०१९ मा नेपालको भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सि जिनपिङले नेपाललाई भूपरिवेन्ठित राष्ट्रबाट भूजडित राष्ट्रमा परिणत गर्ने घोषणा गरेका थिए । तर, खनालको भ्रमणको दौरानमा बिआरआईबारे खासै छलफल भएको देखिएन् । गत वर्ष केपी शर्मा ओलीको चीन भ्रमणको दौरानमा बिआरआई अन्तर्गत १० वटा परियोजनाहरुलाई अन्तिम रुप दिइएको थियो ।

चिनियाँ लगानीका लागि अनुकूल र पारदर्शी वातावरणको अपेक्षाः चीनले आफ्ना उद्यम तथा व्यवसायीहरूलाई नेपालमा लगानी र व्यवसाय विस्तार गर्न प्रोत्साहित गरिरहेको सन्देश दिँदै यसका लागि नेपाली पक्षले थप न्यायसंगत, कानुनमा आधारित र पारदर्शी व्यावसायिक वातावरण उपलब्ध गराउने आशा व्यक्त गरेको छ । विशेषत चीनले नेपालमा आफ्नो लागि लगानीको वातारण नभएको बताउँदै आएको छ । चीनले पछिल्लो समय नेपालमा लगानी बढाउन चाहेको छ । पछिल्लो समय अमेरिकी इन्टरनेट कम्पनी स्टारलिंकले नेपालमा लगानी गर्ने प्रस्ताव गरेपछि चीनले आफ्नो कम्पनी हुवाअ‍े मार्फत गुणस्तरीय इन्टरनेट दिन तयार रहेको सन्देश दिएको छ ।

बहुपक्षीय मञ्चमा समन्वय र साझा हितको रक्षाः विश्व परिवेशमा विकासोन्मुख देशहरूको साझा हितको रक्षा गर्न र द्विपक्षीय व्यावहारिक सहकार्यलाई प्रगाढ बनाउन दुवै देशले विभिन्न द्विपक्षीय मञ्च, संयन्त्र र बहुपक्षीय समन्वयको पूर्ण रुपमा उपयोग गर्नुपर्नेमा चीनले जोड दिएको छ ।

परराष्ट्रमन्त्री खनालले चिनियाँ पक्षलाई दिएका पाँच सन्देश

‘एक चीन नीति/सिद्धान्त’ प्रति दृढ प्रतिबद्धता र सुरक्षाको ग्यारेन्टीः नेपाल ‘एक चीन नीति’ प्रति पूर्ण रूपमा अडिग रहेको र ताइवान तथा तिब्बत सम्बद्ध मामिलाहरूलाई चीनको आन्तरिक मामिला मान्दछ र नेपालले आफ्नो भूभाग प्रयोग गरी चीनको हित प्रतिकूल हुने वा चीन विरोधी गतिविधि गर्न कुनै पनि शक्तिलाई कहिल्यै अनुमति नदिने स्पष्ट प्रतिबद्धता दोहोर्‍याएको छ । दुई देशका परराष्ट्रमन्त्रीहरुको वैठकमा चिनियाँ पक्षले नेपालमा आफ्नो सुरक्षा र रणनीतिक चासो संकटमा पर्न लागेको भन्दै चिन्ता व्यक्त गरेको थियो । यस सन्दर्भमा चीनले अमेरिकाको एमसीसी र एसपीपीले नेपालमा चिनियाँ सुरक्षामा असर गर्न सक्ने भन्दै ध्यानाकर्षण गराएको थियो ।

दीर्घकालीन सहयोगप्रति कृतज्ञता र समानताको सम्बन्धः नेपालको सामुदायिक विकास, स्वास्थ्य, शिक्षा, पूर्वाधार, ग्रामीण विकास र व्यापारमा चीनले पुर्याउँदै आएको दीर्घकालीन सहयोगप्रति नेपाल कृतज्ञ छ । चीनले नेपाललाई सधैं समानताको व्यवहार गरेको र सार्वभौमिकताको सम्मान गरेकोमा नेपालले उच्च कदर गरेको सन्देश दिएको छ ।

कनेक्टिभिटी र पूर्वाधारलाई मुख्य प्राथमिकताः नेपालको वर्तमान प्राथमिकता देशको अर्थतन्त्रलाई तीव्र गतिमा अगाडि बढाउनु हो । त्यसैले नेपालले चीनसँगको ट्रान्स–हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्क (अन्तरदेशीय रेलमार्ग र चिलिमे–केरुङ विद्युत ग्रिड)लाई मुख्य प्राथमिकतामा राखेको छ र चीनतर्फको व्यापार घाटा कम गर्न कनेक्टिभिटी सुधार गर्न चाहेको सन्देश दिएको छ।

असंलग्न नीति र दुवै छिमेकीसँग सन्तुलित सम्बन्धः नेपालको नयाँ सरकार असंलग्नताको नीतिमा प्रतिबद्ध छ । भारत भ्रमणलगत्तै चीन भ्रमण गरेर नेपालले चीन र भारत दुवै देशलाई उत्तिकै महत्त्व दिने र दुवै छिमेकीसँगको सम्बन्धलाई विगतको तुलनामा अझ बलियो, राम्रो र गहिरो बनाउँदै सन्तुलित कूटनीति अवलम्बन गर्ने सन्देश दिएको छ ।

चीनको विकासबाट प्रेरणा र विश्वव्यापी पहलहरूको समर्थनः चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को नेतृत्वमा चीनले हासिल गरेको तीव्र आर्थिक वृद्धि र छोटो समयमा झण्डै १ अर्ब मानिसलाई गरिबीबाट मुक्त गरेको अनुभवबाट नेपाल प्रेरित छ। आगामी दशकमा मध्यम आय भएको देश बन्ने आकांक्षासहित नेपालले चीनको राष्ट्रिय शासनको अनुभव सिक्न चाहेको छ र चीनद्वारा प्रस्तावित ‘मानवजातिका लागि साझा भविष्यसहितको समुदाय’ लगायतका विश्वव्यापी पहलहरूलाई पूर्ण रुपमा समर्थन गर्ने सन्देश दिएको छ ।

निष्कर्ष

परराष्ट्रमन्त्री खनालको यो चीन भ्रमणले नेपाल–चीन सम्बन्धलाई परम्परागत राजनीतिक सम्बन्धबाट माथि उठाई आर्थिक र पूर्वाधार साझेदारीको नयाँ उचाइमा पुर्याउने स्पष्ट मार्गचित्र कोरेको देखिन्छ । दुवै देशबीच आदानप्रदान भएका सन्देशहरूले के पुष्टि गर्छन् भने, नेपालका लागि चीन सुरक्षित क्षेत्र, सार्वभौमिकताको सम्मान र विशेश गरि भूपरिवेष्ठित अवस्थाबाट मुक्त हुन आर्थिक विकासका लागि एक ‘विश्वसनीय र भरपर्दो छिमेकी’ भएर बस्न तयार हुनु हो । अर्कोतर्फ, चीनका लागि नेपाल आफ्नो तिब्बत मामिला अन्तर्गतको सुरक्षा चासो र बीआरआईको क्षेत्रीय सञ्जाल विस्तारका लागि एक ‘प्रतिबद्ध साझेदार’ हो ।

नेपालले चालेको भारत र चीनबीचको सन्तुलित कूटनीतिक कदम र चीनले देखाएको प्राविधिक तथा आर्थिक सहयोगको तत्परता (जस्तै रेल र प्रसारण लाइनको सम्भाव्यता अध्ययन)ले आगामी दिनमा ट्रान्स–हिमालयन कनेक्टिभिटी केवल कागजमा मात्र सीमित नभई यथार्थमा रूपान्तरण हुने बलियो सम्भावना देखाउँछ ।

Logo