भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गरेसँगै आज विहानदेखि केन्द्रीय सदस्यको लागि मतदान हुने भएको छ ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले पार्टी सभापतिका लागि मनोनयन दर्ता गर्ने अवधिभरमा लामिछानेको मात्रै उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरे । लामिछानेलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पार्टी नेतासमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले राखेका थिए।
बन्दसत्र सम्पन्न भएसँगै निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो। पार्टी सभापति पदको मनोनयन फाराम वितरण र दर्ताका लागि साँझ ७ देखि ७:३० बजेसम्मको समय तोकिएको थियो। निर्वाचनबाट आउने ९९ केन्द्रीय सदस्यहरूको निर्वाचन प्रक्रिया पनि सुरु भएको छ। केन्द्रीय सदस्य पदको फाराम वितरण तथा दर्ता मंगलबार राति साढे ७ देखि साढे ९ सम्म तोकिएको थियो।
उम्मेदवारविरुद्ध दाबी विरोध तथा जाँचबुझ गरेर राति ११:४५ बजे नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। केन्द्रीय सदस्यको उम्मेदवारी दर्ताका लागि २१ हजार शुल्क तोकिएको छ। केन्द्रीय सदस्यको उम्मेदवारले १ प्रस्तावक र २१ समर्थकको विवरण पनि पार्टीको निर्वाचन आयोगमा बुझाउनुपर्ने कार्यविधि छ।
बुधबार बिहानै मतदान सुरु हुने निर्वाचन आयोगले जनाएको छ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले भने, ‘केन्द्रीय सदस्यका लागि बुधबार बिहान ८ बजेदेखि मतदान गर्ने तयारी गरेका छौं। मतदानमा ८ घण्टा समय लाग्छ।’
रास्वपा केन्द्रीय सदस्य र पदाधिकारीको मतदानमा इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) सँगै मोबाइल एप प्रयोग गर्ने तयारी छ। ‘मतदानस्थलमा रहेका प्रतिनिधिले ईभीएम र प्रवासमा रहेका प्रतिनिधिले रास्वपाको मोबाइल एपबाट मतदान गर्नॅहुनेछ। मतदान सकिएको दुई घण्टामा मतपरिणाम आउँछ,’ निर्वाचन आयोग प्रमुख केसीले भने।
रास्वपाको महाधिवेशनमा दुई चरणमा निर्वाचन हुने पार्टी विधानको व्यवस्था छ। पहिलो चरणमा सभापति र ९९ केन्द्रीय सदस्यको निर्वाचन हुनेछ भने दोस्रो चरणमा पदाधिकारीको निर्वाचन हुने विधानको प्रावधान रहेको छ। केन्द्रीय सदस्यमा निर्वाचित व्यक्ति मात्रै पदाधिकारीको उम्मेदवार बन्न पाउनेछन्।
यसपालि विधान संशोधन गरेर पदाधिकारीको संख्या १९ पुर्याइएको छ। यसअघि पदाधिकारी संख्या १२ थियो। यस पटक रास्वापमा सभापति १, वरिष्ठ नेता १, उपसभापति ३ (१ महिला र १ मनोनीत), महामन्त्री २ (१ मनोनीत), सहमहामन्त्री ५ (१ महिला, २ मनोनीत), प्रवक्ता १, सहप्रवक्ता ३ (१ महिला), कोषाध्यक्ष १ र सहकोषाध्यक्ष २ (१ महिला) हुने व्यवस्था राखिएको छ।
वरिष्ठ नेता वालेन्द्र शाह बन्ने पक्का भएको छ। खुला उपसभापतिमा स्वर्णिम वाग्लेको मात्रै उम्मेदवारी पर्ने नेताहरूले बताउँदै आएका छन्। महिला उपसभापतिमा भने सोविता गौतम, लिमा अधिकारी, प्रतिभा रावललगायतको उम्मेदवारी पर्न सक्ने नेताहरूको भनाइ छ। त्यस्तै खुला महामन्त्रीमा मनीष झा, विपिन आचार्य, कवीन्द्र बुर्लाकोटी, गणेश पराजुली, शिशिर खनाललगायतका नेताहरूले दाबी गरिरहेका छन्।
डा. तोसिमा कार्कीले महिला उपसभापति वा महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरिरहेको चर्चा छ। सहमहामन्त्रीमा दीपक बोहरा, अशोक चौधरी, क्रान्तिशिखा धिताल, निशा डाँगी, निशा मेहतालगायतलाई उम्मेदवारका रूपमा हेरिएको छ। केन्द्रीय सदस्यमा निर्वाचित भए मात्र यी नेताले पदाधिकारीमा उम्मेदवारी दिन पाउनेछन्।





























प्रतिक्रिया