विद्यार्थी आन्दोलनमा उत्रिएपछि उत्तरपुस्तिका परीक्षण र डेटा भेरिफिकेसनका लागि समिति गठन

विद्यार्थी आन्दोलनमा उत्रिएपछि उत्तरपुस्तिका परीक्षण र डेटा भेरिफिकेसनका लागि समिति गठन

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले नतिजा प्रकाशनमा कुनै हतार नगरी आवश्यक जनशक्ति थप गरेर तथा अनावश्यक प्रशासनिक प्रक्रिया छोट्याएर समयमै नतिजा सार्वजनिक गरिएको स्पष्ट पारेका हुन्।

मन्त्री पोखरेलले लेखेका छन्, ‘राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रियाबारे मेरो धारणा मैले यसअघि पनि सार्वजनिक गरिसकेको छु । यस प्रक्रियाप्रति स्पष्ट र विश्वस्त छौँ । नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन, बरु आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रियाहरू छोट्याई नतिजा प्रकाशित हुनुपर्ने समयमा नै प्रकाशित गरिएको हो।’

उनले नतिजा प्रक्रियाबारे असन्तुष्टि जनाउँदै विद्यार्थीहरुले गरिरहेको आन्दोलनप्रति सरकारको सम्मान रहेको पनि बताएका छन्। लोकतान्त्रिक समाजमा आफ्ना धारणा राख्ने अधिकारको सम्मान हुनुपर्ने उल्लेख गर्दै आन्दोलनरत पक्षप्रति संयमित व्यवहार गर्न आग्रह गरेका छन्।

‘यस विषयमा शान्तिपूर्ण रूपमा आफ्नो धारणा राख्दै गरिएको आन्दोलनप्रति हामी सम्मान व्यक्त गर्दछौँ। लोकतान्त्रिक समाजमा आफ्ना आवाज उठाउने अधिकारको सम्मान गरिनुपर्छ,’ उनले लेखेका छन् ।

मन्त्री पोखरेलले सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा विद्यार्थीहरूप्रति गरिएका नकारात्मक र असम्मानजनक टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाउँदै यस्ता गतिविधि नगर्न सबैसँग अनुरोध गरेका छन्। ‘शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका कुनै पनि व्यक्ति वा समूहप्रति सामाजिक सञ्जालमा दुर्व्यवहार, गालीगलौज वा असम्मानजनक टिप्पणी नगर्न सबैमा अनुरोध गर्दछु,’ उनले भनेका छन्।

यसैबीच नतिजासम्बन्धी उठेका जिज्ञासा र प्रश्नहरूको अध्ययन गर्न शिक्षा तथा खेलकुद मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका प्रतिनिधिहरू समेत सहभागी रहने गरी समिति गठन गरिएको जानकारी पनि उनले दिएका छन्।

उनका अनुसार शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव तथा पाठ्यक्रम विकास केन्द्रका उपसचिवको प्रतिनिधित्व रहने समितिले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण, परीक्षाङ्क तथा डेटा इन्ट्रीको भेरिफिकेसन गर्नेछ।

Logo