रास्वपाको ६ पदमा निर्वाचन, महामन्त्रीमा ९ जनाको उम्मेदवारी घोषणा

रास्वपाको ६ पदमा निर्वाचन, महामन्त्रीमा ९ जनाको उम्मेदवारी घोषणा

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि सर्वसम्मति नभए ६ पदका लागि निर्वाचन हुने भएको छ । रास्वपाको विधानमा सभापतिसहित ९९ केन्द्रीय सदस्य र दुई उपसभापति, एक महामन्त्री, तीन सहमहामन्त्रीका लागि निर्वाचन हुने व्यवस्था छ ।

पहिलो चरणबाट सभापतिमा रवि लामिछाने सर्वसम्मत भइसकेका छन् भने केन्द्रीय सदस्यसमेत निर्वाचित भइसकेका छन् । दोस्रो चरणमा केन्द्रीय सदस्यहरुमध्येबाट ६ पदका लागि निर्वाचन हुन लागेको हो ।

रास्वपाको दुई उपसभापति पदका लागि विराजभक्त श्रेष्ठ र स्वर्णिम वाग्लेले उम्मेदवारी घोषणा गरेका छन् । महिला उपसभापतिमा सोविता गौतम, इन्दिरा राना मगर र तोशिमा कार्कीले उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

एक महामन्त्री पदका लागि ९ जना नेताले उम्मेदवारी घोषणा गरेका छन् । निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी, निवर्तमान सहमहामन्त्री विपिन आचार्य, नेता गणेश पराजुली, मनिष झा, गणेश कार्कीले उम्मेदवारी दिने घोषणा गरेका छन् । त्यस्तै, विवेकशील साझा पार्टीकी तत्कालीन महासचिव रञ्जु दर्शना, सागर ढकाल र प्रमोद न्यौपानेले समेत महामन्त्रीमा उम्मेदवारी दिने बताएका छन् । नेता राजु पाण्डेले पार्टीको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्

सहमहामन्त्रीमा महिलातर्फ ज्वाला संग्रौला, निशा डाँगी र निशा मेहताले उम्मेदवारी घोषणा गरेका छन् । सहमहामन्त्रीमा प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार अशिम शाह, बब्लु गुप्ता नेता यज्ञमणि न्यौपाने, पुकार बम, सुलभ खरेललगायतले उम्मेदवारी घोषणा गरेका छन् । रास्वपाका नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह काठमाडौं महानगरपालिकामा मेयर हुँदा उनी नगर प्रहरी प्रमुख थिए । पछि वालेन्द्रले महानगर छाडेसँगै उनले पनि राजीनामा दिएर राजनीतिमा होमिएका थिए ।

रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका तत्कालीन मेयर वालेन्द्र शाहबीच चुनावअघि भएको सहकार्यको सहमतिपछि वालेन्द्र पक्षबाट २६ जना केन्द्रीय सदस्य बनेका थिए, तर तीमध्ये १६ जनाले उम्मेदवारी दिएनन् । सुनील लम्साल, भूपदेव शाह, लक्ष्मण थारू, सन्तोष गिरी लगायतलाई मनोनीत गर्ने तयारी छ ।

रास्वपाको विधानले ५१ सदस्यलाई केन्द्रीय समितिमा सभापतिले मनोनीत गर्ने अधिकार दिएको छ। सोही प्रक्रियाबाट केन्द्रीय सदस्य हुँदै पदाधिकारी बन्ने लाइनमा रहेका नेताहरूले उम्मेदवारी दिएका छैनन् ।

Logo