काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनबाट चयन भएको नयाँ पदाधिकारी टोलीमा सभापति रवि लामिछाने निकट नेताहरूको स्पष्ट वर्चस्व देखिएको छ। सहमहामन्त्रीमा निर्वाचित असिम शाहबाहेक सबै प्रमुख पदमा लामिछाने पक्षका उम्मेदवार विजयी भएका छन् । यद्यपि लामिछानेले हिजो नै शपथपछिको सम्बोधनमा महाधिवेशनले कुनै पक्षविपक्ष नरहेको दाबी गरेका थिए ।
पार्टी विधानअनुसार उपसभापति दुई (एक महिला), महामन्त्री एक तथा सहमहामन्त्री दुई (एक महिला) पदका लागि निर्वाचन भएको थियो । यसअघि निर्वाचित केन्द्रीय सदस्यमध्येबाट पदाधिकारी चयन गरिएको हो ।
खुलातर्फ उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन् । अर्थमन्त्रीसमेत रहेका वाग्ले लामो समयदेखि सभापति लामिछानेका विश्वासपात्र मानिन्छन् । लामिछानेले पदाधिकारी सर्वसम्मत चयन गर्ने प्रयास गरे पनि सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन गरिएको हो । महिला उपसभापतिमा सोविता गौतम विजयी भएकी छन् । कानुनमन्त्रीसमेत रहेकी गौतमले डा. तोषिमा कार्कीलाई पराजित गर्दै पद सुरक्षित गरिन् । कार्की पछिल्लो समय काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)निकट नेताका रूपमा चिनिने गरेकी छन् ।
महामन्त्री पदमा विपीन आचार्य निर्वाचित भएका छन् । रास्वपा स्थापनाअघि नै लामिछानेसँग निकट सम्बन्ध रहेका आचार्य पार्टीका संस्थापक सदस्यसमेत हुन् । यसअघि उनी सहमहामन्त्रीको जिम्मेवारीमा थिए । उनले मनीष झा, सागर ढकाल र गणेश कार्कीलाई पछि पार्दै विजय हासिल गरेका हुन् । ढकाल र कार्कीलाई बालेन समर्थक धारको प्रतिनिधिका रूपमा हेरिएको थियो भने संस्थापनकालदेखि सक्रिय झाको पछिल्लो समय सभापति लामिछानेसँग दूरी बढेको चर्चा बाहिर आएको थियो ।
सहमहामन्त्री (खुला)तर्फ हरि ढकाल र असिम शाह निर्वाचित भएका छन् । ढकाल सभापति लामिछाने निकट मानिन्छन् भने शाह बालेन पक्षका एक मात्र विजयी उम्मेदवार बनेका छन् । शाह हाल प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकारको भूमिकामा छन् ।
यस पदका लागि रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बू, राजीव खत्री, विजय जैरू र हिमेश पन्तले समेत प्रतिस्पर्धा गरेका थिए । महिला सहमहामन्त्रीमा निशा डाँगी ७ सय ३७ मतसहित निर्वाचित भएकी छन् । उनी पनि सभापति लामिछाने पक्षकै नेतृ हुन् । यो पदका लागि रिमा विश्वकर्मा, जुली यादव, विदुषी शर्मा र कामिनीकुमारी चौधरीबीच प्रतिस्पर्धा भएको थियो ।
महाधिवेशनको परिणामले पार्टीभित्र सभापति रवि लामिछानेको प्रभाव अझ मजबुत बनेको देखिएको छ । बालेन शाह निकट मानिने समूहले केही पदमा चुनौती दिए पनि असिम शाहबाहेक अन्य उम्मेदवारले सफलता हासिल गर्न सकेनन् । नयाँ नेतृत्व चयनसँगै अब रास्वपाले संगठन सुदृढीकरण, वैचारिक स्पष्टता र आगामी राजनीतिक रणनीतिमा ध्यान केन्द्रित गर्ने अपेक्षा गरिएको छ ।
महाधिवेशनमा आकांक्षी धेरै भएकाले निर्वाचनमा जानुपरेको, निर्वाचनका समयमा केहीले नेताको नाम जोडेर प्रचार गरेको तर अब यसो नगर्ने प्रष्टिकरण पनि सभापति लामिछानेले हिजो नै दिएका थिए । पदाधिकारीमा बालेन समूहका नेताहरु छुटेकाले पनि अब मनोनीतमा सभापतिलाई दबाब बढ्ने भएको छ । मनोनीतमा सभापति लामिछानेले सबै पक्षबीच सन्तुलन मिलाउनु पर्ने दबाब बढेको छ ।





























प्रतिक्रिया