प्रतिनिधिसभामा आर्थिक विधेयकमाथि छलफल जारी

प्रतिनिधिसभामा आर्थिक विधेयकमाथि छलफल जारी

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा बजेट आश्रित विधेयक ‘आर्थिक विधेयक, २०८३’ माथि छलफल सुरु भएको छ ।

सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयकमाथि सात वटा संशोधनको सूचना प्राप्त भएको सदनलाई जानकारी गराए । उनले विधेयकका सम्बन्धमा नेपाल सरकारको जवाफदेहिता क्षेत्रभित्रको प्रशासनिक कार्य, स्थानीय समस्या वा नेपाल सरकारको मौद्रिक नीति एवं आर्थिक नीतिसँग सम्बन्धित विषयमा मात्र छलफल गरिने जानकारी सांसदहरुलाई दिए ।

छलफलमा संशोधनकर्ता नेपाली कांग्रेसका गङ्गालक्ष्मी अवालले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीसँग लिइने शुल्क तीन प्रतिशत राखिएमा त्यसलाई सकभर शून्य वा न्यून गर्नुपर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का डा पुष्पराज कँडेलले विधेयकले विभिन्न २० शीर्षकमा कर लिने व्यवस्था गरे पनि आयकर छुटेको सम्बन्धमा स्पष्ट पार्नुपर्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सुशील खड्काले करका दायराहरु सरल र निजी क्षेत्रका व्यवसायीले बुझ्न सक्ने हुनुपर्ने धारणा राखे ।

नेपाली कम्युनिष्ट पार्टीका पार्वती विकले पुँजीगत खर्च न्यून विनियोजन गरेर चालु खर्च वृद्धि गर्दा मुलुकको विकास प्रयास प्रभावित हुने टिप्पणी गरिन् ।

नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिने करको दर हेरफेरलाई वैज्ञानिक र व्यवस्थित बनाउन सुझाव दिए ।

संशोधनकर्ता रास्वपाका हरिप्रसाद भुसालले आफ्नो संशोधन फिर्ता लिए भने अर्का संशोधनकर्ता श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई बैठकमा अनुपस्थित भए । विधेयकमाथिको छलफल पूरा भएपछि अर्थमन्त्री डा वाग्लेले उठेका प्रश्नको जवाफ दिनेछन् ।

Logo