निर्वाचन आयोगद्वारा मतदान केन्द्रसम्म पुग्ने सडक र पुलको मर्मत गर्न आग्रह

निर्वाचन आयोगद्वारा मतदान केन्द्रसम्म पुग्ने सडक र पुलको मर्मत गर्न आग्रह

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ७ भदौ ।

निर्वाचन आयोगले प्रदेश नं २ मा असोज २ गतेका लागि तय स्थानीय तहको निर्वाचन कार्यक्रम सुरु हुनुअघि नै त्यस क्षेत्रमा कायम भएका मतदान केन्द्रसम्म पुग्ने सडक र पुलको मर्मत गरिसक्न सरकारसँग आग्रह गरेको छ ।

आयोगका पदाधिकारीले केही दिनअघि त्यस क्षेत्रमा गरेको निरीक्षण भ्रमणका क्रममा देखिएको समस्याबारे कार्यबाहक प्रधानमन्त्री विजयकुमार गच्छदारलाई जानकारी गराउँदै आयोगले यस्तो आग्रह गरेको हो ।

प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा हुने निर्वाचनका लागि यही भदौ १२ गते निर्वाचन अधिकृत खटिने छन् । त्यसअघि नै मतदान केन्द्रसम्म पुग्ने बाटो सञ्चालन गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको हो ।

आयोगका पदाधिकारीसँग छलफल गर्न कान्तिपथस्थित निर्वाचन आयोग पुगेका कार्यबाहक प्रधानमन्त्री गच्छदारले आयोगले उठाएका विषयलाई सकारात्मक र गम्भीर रूपमा लिई सरोकार राख्ने निकायसँग छलफल गरेर मतदान अधिकृत, उम्मेदवार र मतदातालाई सहज रूपमा मतदान केन्द्रसम्म पुग्न सक्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका हुन् ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै कार्यबाहक प्रधानमन्त्री गच्छदारले हालै आएको वर्षा र बाढीले त्यस क्षेत्रमा सडक भत्काउनाका साथै पुल बगाउँदा मतदातालाई मतदान केन्द्रसम्म पुग्न कठिनाइ भएको र त्यसलाई मर्मत गरी सञ्चालनमा ल्याउने कामलाई सरकारले उच्च प्राथमिकता दिने जानकारी दिए ।

सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मंसिर १० गतेका लागि घोषणा गरिसकेको छ । आयोगले मंसिर ४ र २१ गतेका लागि प्रस्ताव गरेको थियो । त्यसमा आयोगको केही भनाइ छ भने स्पष्ट गर्न सकिन्छ भन्दै कार्यबाहक प्रधानमन्त्री गच्छदारले “कानून छिटो पारित गर्छौं । तर मंसिर १० मा निर्वाचन हुुनुपर्छ भन्नेमा सरकार प्रतिबद्ध छ” भन्ने जिकिर गरे ।

Logo