संशोधन प्रस्तावको विपक्षमा मतदान गर्न राप्रपाको ह्विप

संशोधन प्रस्तावको विपक्षमा मतदान गर्न राप्रपाको ह्विप

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ५ भदौ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना सांसदलाई व्यवस्थापिका–संसद्को बैठकमा अनिवार्य उपस्थित भई संसद्मा पेश भएको संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।

पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता कमल थापाको अध्यक्षतामा आज संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको उक्त बैठकले विधेयकको विपक्षमा मतदान गर्ने सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाको आइतबार हेटौडामा सम्पन्न बैठकले संसदमा हाल विचाराधीन संविधान संशोधन विधेयकले मधेस र मधेसी जनताको मूलभूत हक, हित र समस्यालाई सम्बोधन गर्न नसकेको, मधेस केन्द्रीत राजनीतिक दलहरुले विधेयक पारित नभए पनि चुनावमा भाग लिने प्रतिबद्धता जनाएको, विधेयक पारित गराउने बारे स्वयम् सत्तारुढ दल, सरकार र राजपासमेत गम्भीर नरहेको, राप्रपाको तर्फबाट संसदमा पेश भएको हिन्दुराष्ट्र पुर्नस्थापनासम्बन्धी संविधान संशोधन विधेयक छलफलमा नल्याइएको तथा राप्रपालाई विभाजन गर्ने कार्यमा सरकार र सत्तारुढ दलहरु नै सक्रियाशिल भएको भन्दै विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।

रापप्रा बैठकको निर्णयअनुसार प्रमुख सचेतक कुन्तीकुमारी शाहीद्वारा राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन २०७३ को धारा २८ बमोजिम आज बस्ने बैठकमा सांसदलाई पार्टीको निर्णय पालना गराउन ह्विप जारी भएको हो ।

Logo