हिमपातले जनजीवन प्रभावित

हिमपातले जनजीवन प्रभावित


हिमाली भेगमा केही हिमपात भएसँगै बढेको चिसोपनले उत्तरी रसुवाको जनजीवन प्रभावित भएको छ । समुन्द्र सतहदेखि दुई हजार ५०० मिटर भन्दामाथि हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन् । हिमपातले गोसाइँकुण्ड धार्मिक मार्गको चन्दनवारी, ठूलोस्याफ्रुको गर्दागाङ, लाङ्टाङ, नाकथलीसमेतका मानवबस्तिको  जनजीवन प्रभावित पारेकाे छ । 

हिमाली भेगमा शुक्रबार दिनैभर हिउँ परेकाे स्थानीयबासी सुव्वा लामाले बताए । हिमपातले अत्याधिक चिसोपन बढेका कारण उत्तरीभेगका बासिन्दा यतिखेर घरभित्र आगो तापेर बसिरहेका र घरपालुवालाई पानी तताएर खुवाउन थालिएको स्थानीय तेन्जेन लामाले जानकारी दिए । 

हिमपातका कारण पवित्र तीर्थ गोसाइँकुण्डको तलाउ जमेको, धार्मिक मार्ग हिउँले छोपेको, सडक मार्गका ओसिलो ठाउँमा पानी जम्दा बनेको बरफले दुई पाङ्ग्रे सवारी साधन चलाउन समस्या भएको प्रहरीले जनाएको छ ।

गत वर्ष जाडोयामको यही समयमा गोसाइँकुण्ड, आमाछोदिङ्मो  गाउँपालिकाको ११ वडा र कालिकागापाको राम्चे, स्याउवारी, उत्तरगया पालिकाको तिरू एवं नौकुण्ड पालिकाको यार्सा, घाङमर, दोक्लाङसमेत क्षेत्र प्रभावित हुने गरेको सम्बन्धित गाउँपालिकाले जनाएको छ । 

Logo