केन्द्रबिन्दु बुलेटिन : संसद विघटन मुद्दामा माघ ३० गतेभित्र बहस सक्न प्रधानन्यायाधीशको आग्रह

केन्द्रबिन्दु बुलेटिन : संसद विघटन मुद्दामा माघ ३० गतेभित्र बहस सक्न प्रधानन्यायाधीशको आग्रह


हरेक दिन जस्तै आज पनि हामीले केन्द्रबिन्दु बुलेटिन प्रस्तुत गरेका छौं । आजका मूख्य समाचारहरु मध्ये प्रतिनिधिसभा विघटन सदर हुने वा बदर भन्नेबारे सर्वोच्च अदालतमा ‘हेर्दाहेर्दै’मा रहेको मुद्दामा आज पनि सुनुवाई हुन सकेन । यसैबीच संसद विघटन मुद्दामा विपक्षी र पक्षलाई माघ ३० गतेभित्र बहस सक्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आग्रह गरेका छन् । संसद विघटन मुद्दामा आफ्नो बहस ३० माघभित्रमा सक्न सरकारी पक्षलाई प्रधानन्यायाधीश जबराले आग्रह गरेका हुन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता विवाद मिलाउने जिम्मेवारी नवनियुक्त निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पाएका छन् । २१ माघमा पद तथा गोपनियताको सपथ लिएका आयुक्त भण्डारीले राजनीतिक दल तथ दल विभाजन सम्बन्धी जिम्मेवारी पाएका हुन् । गत शुक्रबार यो जिम्मेवारी पाएका वरिष्ठ अधिवक्तासमेत रहेका भण्डारी नेकपाको विवादसम्बन्धी कागजपत्रको अध्ययनमा लागेका छन् । स्रोतका अनुसार पछिल्लो पटक माधव–प्रचण्ड समूहले पठाएको १९ पृष्ठको पत्र पठाएसँगै आयोगलाई आधिकारिकता अध्ययनमा सहयोग पुगेको हो ।  

चन्द्रपुर नगरपालिकाले आइतबार जारी राष्ट्रिय महिला फुटबल लिगमा विराटनगर महानगरपालिकालाई १–० ले पराजित गरेको छ । जीतसँगै चन्द्रपुरले सात खेलबाट ६ अंक बटुलेको छ । पराजित विराटनगर भने १० अंकका साथ लिगमा तेस्रो स्थानमा रहेको छ । यता, अखिल नेपाल फुटबल संघ (एन्फाले) वैशाख २५ गतेबाट ए डिभिजन राष्ट्रिय फुटसल लिग सुरु गर्ने भएको छ ।  

बजार खुलेको पहिलो दिन शेयरले नयाँ रेकड बनाएको छ । आज भएको कारोबारमा नेप्से परिसूचक ४८.७४ अंकले बढेको हो । आइतबार कारोबारमा शेयर २,५२४ विन्दुमा पुगेको छ । यसैगरी, कारोबार रकममा रेकर्ड ब्रेक नेप्से कारोबार १० अर्ब नाघेको छ ।  

नेपाल सरकारले सोमबारदेखि पत्रकार, युएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीका लागि कोरोनाविरुद्धको खोप लगाउने भएको छ । पहिलो चरणमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई खोप दिन थालेको ११ दिनपछि स्वास्थ्य मन्त्रालयले यस्तो निर्णय गरेको हो । यसैबीच कोरोना भाइरस (कोभिड–१९) विरुद्धको चिनियाँ खोप आपूर्तिका विषयमा प्रश्न उठाउँदै परराष्ट्र मन्त्रालयले पत्र पठाएपछि चीनले तत्काल खोप लैजान ताकेता गरेको छ ।

Logo