प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग विगतका कतिपय घटनामा अनुचित ढंगले प्रस्तुत भएको बताएका छन् । उनले अख्तियारसँग अपराधी डराउनै पर्दछ तर निर्दोष मान्छेका निम्ति अख्तियार त्रास नभएर संरक्षणको थलो बन्नु पर्ने बताएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भ्रष्टाचारमा शून्य सहनशिलता अपनाउनु पर्ने बताए ।
प्रधानमन्त्री ओलीले भ्रष्टाचार सम्बन्धी समाचार लेख्दा सञ्चार माध्यमलाई जिम्मेवार हुन समेत आग्रह गरेका छन् । भ्रष्टाचार नगरेका व्यक्तिलाई जसरी पनि भ्रष्टै देखाउने गरी समाचार लेख्न नहुने भन्दै उनले सञ्चार माध्यमलाई पनि सुझाएका छन् ।
राज्यको चौथो अंग सञ्चार माध्यमले जनतालाई यथार्थ कुरा सूचित गर्नुपर्ने, यथार्थको खोजी भ्रष्टलाई भ्रष्ट भन्नु पर्ने तर जो भ्रष्ट होइन उसलाई जसरी पनि भ्रष्टै हो भन्ने आग्रहपूर्ण मान्यता राख्न नहुने पनि बताएका छन् । प्रधानमन्त्री ओलीले ट्रान्सपरेन्सी इन्टरनेसनल लगायतका संस्थाले अरुलाई हिलो छ्याप्न पाउँदा आफ्नो महानता बढ्छ भन्ने सोच्न नहुने सुझाव पनि दिएका छन् ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार नियन्त्रणमा कडाइ गर्दै शुन्य सहनशीलता देखाउन सरकार सम्बद्ध निकायलाई निर्देशन दिएकी छिन् । राष्ट्रिपति भण्डारीले अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गर्ने र गराउनेलाई समयमै पहिचान गरी उचित दण्ड दिन सके भ्रष्टाचार नियन्त्रण हुने दावी गरेकी छिन् ।
मुलुकमा भ्रष्टाचारको प्रभावकारी नियन्त्रण हुन सकेन भने राज्यका स्रोतहरू दुरुपयोग भइ समग्र राज्य प्रणालीलाई नै जर्जर बनाउने हुँदा भ्रष्टाचार नियन्त्रणका विषयमा कडाइका साथ प्रस्तुत भए मात्रै राजनीतिक, आर्थिक, सामाजीक लगायत समग्र पक्षमा भ्रष्टाचार न्यूनीकरण हुँदै जाने उनको भनाइ छ ।
त्यस्तै कार्यक्रममा बोल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले सरकारी, सार्वजनिक जमीन अतिक्रमण गर्ने जो कोहीलाई अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याउने बताएका छन् । सार्वजनिक भूमि व्यवस्थापन नेपालको सन्दर्भमा चुनौतीपूर्ण देखिएको भन्दै नवनियुक्त प्रमुख आयुक्त राईले सरकारी सार्वजनिक जमिन अतिक्रमण गर्ने, खोला–खोल्सा तथा जमीन ओगट्ने कार्य सह्य नहुने पनि बताएका छन् ।
उनले यस्तो काम गर्ने सार्वजनिक पदाधिकारी वा उनीहरू जोडिएका जोसुकैलाई पनि अनुसन्धान गर्ने र रोक्ने कार्य आयोगको प्राथमिकतमा रहने प्रतिबद्धता जनाएका छन् । आयुत्तर राईले कोरोना भाइरसको विरुद्धको औषधि खरिद लगायतमा भएका भ्रष्टाचार सम्बन्धी थुप्रै उजुरी आयोगमा दर्ता भएको र त्यसलाई प्राथमिकता दिएर घुसखोरी र विचौलियालाई निगरानी गर्न विशेष टोली खटाइने पनि बताए ।































प्रतिक्रिया