नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आदिवासी जनजातिहरुलाई आफ्नो पक्षमा ल्याउनु पर्ने आवश्यकता रहेको बताएका छन् ।
नेपाली कांग्रेस आदिबासी जनजाति केन्द्रीय विभाग, नेपाल आदिवासी जनजाति संघले बिहिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘नेपाली कांग्रेस र आदिवासी जनजातिको सवाल विषयक प्रशिक्षण कार्यक्रम’ मा बोल्दै सभापति देउवाले आदिवासी, जनजाति तथा दलितहरुलाई आफ्नो पार्टीको पक्षमा ल्याउनु पर्ने आवश्यकता रहेको बताएका हुन् । उनले नेपाली कांग्रेस पार्टीले आदिवासी, जनजाति, महिला, दलित लगायतका सबैलाई आरक्षणको व्यवस्था गरेकोले कांग्रेस मात्रै समावेशी पार्टी भएको पनि बताए । कांग्रेस समावेशी पार्टी भएपनि उल्टो प्रचार भएकाले यसलाई चिर्दै आफ्नो पक्षमा ल्याउनु पर्ने आवश्यकता रहेको उनको भनाई छ । उनले भोलि सरकार बनाउनु पर्ने अवस्थामा आदिबासी जनजातिको पनि साथ चाहिने उल्लेख गर्दै जनतालाई आफ्नो पक्षमा ल्याउन काम गर्न नेताहरुलाई निर्देशन समेत दिए ।
सभापति देउवाले संसद विघटनको मुद्धा अदालतमा विचाराधिन भएकाले यसबारेमा नेपाली कांग्रेसले बोल्न नमिल्ने बताए । चुनावबाट सरकार बनाउने राजनीतिक व्यवस्थामा पार्टीले सधैँ चुनावको लागि तयारी गरिरहनु पर्ने भन्दै उनले आगामी दिनमा आउन सक्ने संसद पुनस्र्थापना अथवा चुनाव दुवैको तयारीमा रहन पनि निर्देशन दिए ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रतिनिधिसभा विघटन असंवैधानिक भएपनि निर्वाचनलाई असंवैधानिक भन्न नमिल्ने बताए । प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको उपचार प्रतिनिधिसभाको पुनर्प्राप्ति नै भएको भन्दै चुनाव वा पुनर्स्थापनाबाट नै संविधानलाई लिकमा ल्याउन सकिने बताए । प्रतिनिधिसभाको पुनर्स्थापना र निर्वाचन दुवै संवैधानिक बाटो भएको उनको भनाइ छ ।
नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले कम्युनिष्टहरुले निर्वाचन जितेसम्म नेपालमा समृद्धि नआउने बताए । कम्युनिष्टले निर्वाचन जितेसम्म जातजाति तथा संस्कृतिको सशक्तिकरण पनि नहुने उनको भनाइ छ ।
सहमहामन्त्री महतले नेपाली कांग्रेसले पार्टीलाई समावेशी बनाएको कुराको प्रचारलाई पनि मजबुद बनाउनु पर्ने बताए । नेपाली कांग्रेसले गरेको काम जनतामाझ पुर्याउन नसकेको उनको भनाइ छ ।





























प्रतिक्रिया