विकास विरोधीलाई आगामी निर्वाचनमा पराजित गर्न प्रधानमन्त्रीद्वारा नागरिकमा अपिल

विकास विरोधीलाई आगामी निर्वाचनमा पराजित गर्न प्रधानमन्त्रीद्वारा नागरिकमा अपिल

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले अन्योल र भ्रममा नपरी निर्वाचनको तयारीमा जुट्न सबैलाई आग्रह गरेका छन् । नेकपा प्रदेश नं १ कमिटीद्वारा शनिबार आयोजित प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्दै उनले प्रत्येक सभामा जनताको ठूलो उपस्थिति हुने गरेको बताए। उनले जनतामा भ्रम सिर्जना गर्ने र विकास विरोधीलाई आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनमा पराजित गर्न अपिल गरे। 

उनले चुनावमा लोकतन्त्र, विकासवादी शक्ति र समृद्ध नेपाल निर्माणको अभियानलाई निरन्तरता दिने सोच भएको नेकपालाई  विजयी बनाउनु पर्नेमा जोड दिए । दुई तिहाई नजिकको सरकारलाई काम गर्न नदिने र काम गर्दा पनि हरेक विषयमा अवरोध पुर्याउन खोजेकाले आफूले जनताबीच जाने निर्णय गरेको उनले बताए।

प्रधानमन्त्री ओलीले आफूले विसं २०४७ देखि नै अहिलेसम्म निर्वाचनमा सूर्य चिह्नबाट लडेको बताउँदै अर्को पक्षले सूर्य चिह्नमा कहिले पनि निर्वाचन नलडेको र अहिले निर्वाचन आयोगमा सूर्य चिह्न आफूले पाउनु पर्छ भन्नु हठपना मात्र भएको तर्क गरे ।

नेपालबाट कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने खेलमा गुटवादी गरिएको चर्चा गर्दै अध्यक्ष ओलीले प्रचण्ड फर्केर आए अझै नेकपामा स्थान रहेको बताए । संसद् पुनःस्थापना भए देशमा अस्थिरता उत्पन्न भइ सरकार बनाउने र ढाल्ने खेल चल्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।  “कसैको पनि बहुमत नपुग्ने हुनाले सरकार बनाउने र ढाल्ने राजनीतिको फोहरी खेल चलिरहन्छ”, उनले भने, “त्यसैले मुलुकको अस्थिरतालाई बुझेर संसद् विघटन गरिएको हो ।”

प्रधानमन्त्री ओलीले सर्वाेच्च अदालतले जनसहभागिता र संविधानको मर्म बुझेर निर्णय गर्नेमा आफू आशावादी रहेको विश्वास व्यक्त गरे। उनले करकापमा परेर पार्टीबाट अलग भएकालाई पुनःपार्टीमा आउन आग्रह गर्दै जनताले विश्वास गरेर संसद् र प्रदेशसभाको निर्वाचिनमा विजयी गराएर लगाएको धागो नटुटाउन अनुरोध गरे ।

नयाँ जनादेशमा देश अगाडि बढ्यो : गृहमन्त्री थापा

नेकपाका स्थायी कमिटी सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले देश नयाँ जनादेशको अभियानमा अगाडि बढेको बताए । नेकपा प्रदेश नं १ कमिटीद्वारा आयोजित जनसभामा उनले मुलुकभित्र तथा बाहिरबाट हुने अस्थिरता, षडयन्त्र, विकास विरोधी कार्यविरुद्ध एकजुट हुन र राष्ट्रिय स्वाभिमान, लोकतन्त्रको रक्षाको लागि नयाँ निर्वाचनमा समावेश हुन आग्रह गरे । 

कोभिडका कारण देश विषम परिस्थितिमा रहेका बेला फूटवादी सोच आउनु असामान्य भएको उल्लेख गर्दै उनले मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने प्रयास भएकाले सो विरुद्ध शुद्धीकरण अभियान अन्तर्गत जनसभाको आयोजना गरिएको बताए ।

प्रधानमन्त्री ओलीले विकास र समृद्धि, राजनीतिक स्थायित्वका लागि नयाँ निर्वाचनको लागि संसद् विघटन गर्नुभएको दाबी गर्दै गृहमन्त्री थापाले भने, “नयाँ जनादेशका लागि जनतासमक्ष जानु लोकतान्त्रिक र अग्रगामी कदम हो । कम्युनिस्ट पार्टीलाई एकीकृत गर्न मेची महाकाली अभियान शुरु गरिएको हो ।”

विगत तीन वर्षमा सरकारले राष्ट्रिय एकता र अखण्डता सुदृढीकरण गरेको चर्चा गर्दै उनले राष्ट्रिय राजनीतिबाट बाहिर रहेका राजनीतिक दललाई मुलधारमा ल्याएको उल्लेख गरे । उनले नेकपाको नेतृत्वलाई मुलुकको विकास र समृद्धिका लागि विजयी गराउन सबैलाई आग्रह गरे।

जनसभामा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पार्टीभित्रको फोहरी खेलबाट मुलुकबाट जोगाउन प्रधानमन्त्री ओलीको नयाँ जनादेशको निर्णय सही भएको बताए। उनले राजनीतिक स्थायित्व, विकास, समृद्धि र सुशासन कायम गर्न र विभिन्न वाधा व्यवधान पन्छाउन निर्वाचन अपरिहार्य भएको दाबी गरे ।

नेकपा स्थायी कमिटीका सदस्य एवं संविधानसभाका अध्यक्ष सुभाष नेम्वाङ्गले आगामी निर्वाचनलाई जानताले अनुमोदन गरेको बताए। उनले तराई, मधेश, पहाड हिमालका जनता र विविध संस्कृतिका जनता सडकमा उर्लेर यसलाई अनुमोदन गरेको तर्क गरे।

‘जनताको उपस्थितिले प्रधानमन्त्रीको निर्णय सही हो भन्ने फैसला आएको छ’ भन्दै उनले यही फागुन १२ देखि १५ गतेभित्र सर्वोच्च अदालतको फैसला आउने बताए ।

भेलामा प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियत, संविधान सभाका सदस्य बालकृष्ण ढुङ्गेल, नेकपाका केन्द्रीय सदस्य भगवती चौधरी, रामलाल साह, विनोद ढकाल र नेकपा प्रदेश प्रमुख देवराज घिमिरेले मुलुकमा दिगो शान्ति, विकास र समृद्धि कायम गर्न ताजा जनादेशमा जाने प्रधानमन्त्रीको निर्णय सही भएको बताए ।

Skip This
Skip This
Logo