संघीय संसद सचिवालयले प्रतिनिधि सभा बैठक सञ्चालनको तयारी सुरु गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते प्रतिनिधिसभा बैठक आव्हान गरेपछि संघीय संसद सचिवालयले आफ्नो तयारी शुरु गरेको हो । संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले सचिवालयले प्रतिनिधिसभाको बैठक व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए । कोरोना महामारी विद्यामान रहेको अवस्थामा स्वास्थ्य सर्तकतालाई पनि ध्यान दिइएको उनको भनाइ छ । कर्मचारी व्यवस्थापन तथा प्रशासनिक कामहरुको पनि तयारी गरिएको उनले बताए ।
उनले स्वास्थ्य मापदण्ड पालना गराउँदै सचिवालयको कमी कमजोरीका कारण कोरोना फैलिन नदिन ध्यानपूर्वक काम गरिरहेको बताए । त्यसैगरी प्राविधिक रुपमा पनि तयारी गरिएको बताए ।
संसद सचिवालयले विधेयकहरुको अवस्थाको विषयमा पनि अध्ययन गरिरहेको बताएको छ । समितिको बैठक सञ्चालन गर्ने सन्दर्भमा पनि सचिवालयको तयारी रहेको भन्दै आवश्यक परे समितिहरुको बैठक सञ्चालन गर्न पनि प्रशासनिक तवरबाट तयारी अवस्थामा रहेको सहायक प्रवक्ता धमलाले जनाए । बैठकको व्यवस्थापन सहज, सुरक्षित र कुनै पनि झन्झट र कठिनाई बिना अप्ठ्यारो नआओस् भनेर तयारी गरिरहेको पनि उनले बताए ।
मन्त्रीपरिषद् बैठकले प्रतिनिधिसभा बैठक फागुन २३ गते बोलाउनको निम्ति राष्ट्रपति समक्ष सिफारिस गरिसकेको छ । हालसम्म राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा बैठक आव्हान गरिसकेको अवस्था छैन । गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । यद्यपि सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा विघटनलाई बदर गरेर त्यसको १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउने फैसला गरेको थियो ।





























प्रतिक्रिया