नेकपाका दुवै समूहको नजर कांग्रेस र जसपातिर, के हाेला अबकाे राजनीतिक अवस्था ?

नेकपाका दुवै समूहको नजर कांग्रेस र जसपातिर, के हाेला अबकाे राजनीतिक अवस्था ?


सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापित गरेसँगै छिट्टै राजनीतिक गतिरोध अन्त्य हुने कतिपयले आशा गरे पनि अवस्था त्यति सहज नरहेको प्रतीत हुन थालेको छ। नेकपाको प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले 'नैतिकता'का आधारमा राजीनामा दिनुपर्ने बताइरहँदा प्रधानमन्त्रीले राजीनामा नदिने अडान लिएका छन्।

आइतवार झापामा एउटा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव ल्याएर आफूलाई हटाउन सार्वजनिक रूपमा चुनौती पनि दिए।

हिमालय टेलिभिजनलाई दिएको एउटा अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले आफूले अहिले राजीनामा दिए स्थिति झन् बिग्रन सक्ने दाबी गरेका छन्।

कांग्रेस र जसपाको साथ पाउने आशा
यसबीचमा नेकपाका दुवै समूहले प्रधानमन्त्रीविरुद्ध प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव पेश हुने र त्यसमाथि मतदान हुने अवस्था आएमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपाको साथ पाउने आशा व्यक्त गर्दै आएका छन्।

तर के उनीहरूले आशा गरेझैँ कांग्रेस र जसपा कुनै समूहको पक्षमा उभिन तयार छन् त ?

ती दुवै दलका नेताका कुरा सुन्दा उनीहरू तत्काल कसैको पक्षमा खुल्न चाहेका छैनन् अर्थात्‌ उनीहरूले 'पर्ख र हेर' को नीति अवलम्बन गरेको देखिन्छ। नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजाल कुनै पार्टी विशेषको आन्तरिक विवादमा कांग्रेस नफस्ने तर्क गर्छन्।

नेकपा आधिकारिक रूपमै विभाजित भए कांग्रेसले प्रधानमन्त्री ओलीको पार्टी अथवा प्रचण्ड-नेपालको पार्टीलाई प्रधानमन्त्रीमा सघाउँछ भन्ने जिज्ञासमा रिजालले कम्युनिस्ट पार्टीकै एक जनाको विकल्पमा अर्कालाई कांग्रेसले नसघाउने दाबी गरे।

"अंशबण्डा गर्ने हो भने उहाँहरूले अहिले प्रस्ट रूपमा के बुझ्नु पर्‍यो भने ओलीको विकल्पमा अर्का कम्युनिस्ट नेता प्रधानमन्त्री हुने अवस्था हुँदैन," सोमवार बीबीसी न्यूज नेपालीसित उनले भने।
"त्यस्तो अवस्थामा उहाँहरूले कांग्रेसबाटै प्रधानमन्त्री बनाउने मानसिकता राख्नुपर्छ।"

गत साता नेकपाका नेताद्वय प्रचण्ड र माधवकुमार नेपालले 'मिलेर जान' प्रस्ताव गर्दा कांग्रेस सभापति शेरबहादुर देउवाले त्यसबारे पार्टीभित्र छलफल गर्ने जवाफ दिएका थिए।

"हामीले जनताको भावना, संविधानको मर्म, पार्टी र लोकतन्त्रको बृहत्तर हितलाई हेरेर मात्रै निर्णय गर्छौँ। प्रक्रिया [अविश्वास प्रस्ताव] मा नगई हामी निर्णय गर्दैनौँ," कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने।

सहकार्यबारे केही दिनअघि नेकपाका नेताद्वय प्रचण्ड र नेपालले जसपाका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठसँग पनि पेरिसडाँडामा छलफल गरेका थिए।

'जसपा आफ्नै मुद्दासँग'

सो क्रममा महतोले तपाईँको पार्टी कुन हो भन्ने प्रश्न प्रचण्डतर्फ तेर्स्याएको बताएका थिए।

नेता महतोले लोकप्रियताका लागि त्यो अभिव्यक्ति दिएको भन्ने कतिपयले टिप्पणी गरिरहँदा सहकार्यबारे जसपा पनि नेपाली कांग्रेसजस्तै समयको पर्खाइमा रहेको देखिन्छ।

"हामी कोहीसँग हुँदैनौँ, हामी हाम्रो मुद्दासँग हुन्छौँ। हाम्रो मुद्दासँग को आउँछ त्यो हामीले हेर्ने हो," महतोले सोमवार बीबीसी न्यूज नेपालीसित भने।

यसो हेर्दा तपाईँहरूका मुद्दासँग नजिक कुन समूह देखिन्छ भन्ने जिज्ञासामा उनले थपे, "अनुमानको भरमा भन्न मिल्दैन। संविधान जारी गरे बेला उहाँहरू सबैले हामीलाई धोका दिएकै हुन्।"

जसपाका अर्का नेता अनिलकुमार झा आफूहरूको नजरमा प्रधानमन्त्री ओली, प्रचण्ड र नेपाल एउटै पार्टीका नेता भएको बताउँछन्।

"हाम्रो कामना छ कि उहाँहरूको पार्टी नफुटोस्। यदि फुट्यो भने त्यो दुर्भाग्यपूर्ण हुन्छ। तर त्यो अवस्था आयो भने हामीले केही न केही निर्णय गर्नुपर्ने हुन्छ।" यद्यपि त्यो बेला जसपाको निर्णय के हुन्छ भन्नेबारे नेता झाले केही बताउन चाहेनन्।

सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा पुनर्स्थापना गर्दै त्यसको १३ दिनभित्र अधिवेशन बोलाउन आदेश दिएको थियो।

यस अनुसार राष्ट्रपतिले सोमवार नै मन्त्रिपरिषद्को सिफारिसमा फागुन २३ गते आइतवार दिउँसो ४ बजेलाई प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन्।बीबीसीबाट

Logo