प्रधानमन्त्री ओली कुहिएको अण्डा हुन्ः प्रचण्ड

प्रधानमन्त्री ओली कुहिएको अण्डा हुन्ः प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिग्रिएको कम्युनिष्ट भन्दै कुहिएको अण्डा को संज्ञा दिएका छन् । 

शनिबार पार्टी कार्यालय पेरिशडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कम्युनिष्टहरु बिग्रिए पनि कामै नलाग्ने गरी कुहिएर जाने बताए । कम्युनिष्ट आन्दोलन वैज्ञानिक मान्यतामा आधारित आन्दोलन भएको भएतापनि समाजमा भएका गलत संगत र अभ्यास पनि मिसिन आउने भएकाले गलत र सहीको संघर्ष सधैं चलिरहने उनले स्पष्ट पारे । उनले कम्युनिष्ट आन्दोलन भित्रको संघर्ष समाज विकासको वर्ग संघर्ष पनि भएको बताए । 

प्रतिनिधिसभा विघटन भएको दिन आफूले प्रतिक्रान्तिको षडयन्त्र विरुद्ध युद्ध सुरु भएको भनेको स्मरण गर्दै उनले सर्वोच्चको फैसलासँगै सबै विजयी भएको बताए । उनले विभिन्न शक्तिको चलखेलका कारण कम्युनिष्ट आन्दोलनका सहकर्मी साथीहरु अलग भएको भन्दै अहिले फेरी कम्युनिष्ट आन्दोलनमा समाहित हुन आएकोमा खुसी व्यक्त गरे । उनले नेत्र विक्रम चन्द पनि आफ्नै बाटोमा आएकोमा खुसी गर्दै उनलाई स्वागत  गर्न प्रतिक्षारत रहेको बताए ।

अर्का अध्यक्ष माधवकुमार नेपालले आफूहरुले अन्तिम मौका दिएको भन्दै प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर थोरै भएपनि नैतिकता देखाउन आग्रह गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनको कदम चालेर आफैंले बनाएको संविधानलाई मृत अवस्थामा पुर्‍याएर प्रतिनिधिसभालाई सिध्याउने अवस्थामा पुर्‍याउने प्रतिगामी कदम चालेको टिप्पणी गरे ।

सर्वोच्च अदालतको फैसलाले संविधान र मुलुकको राजनीतिक दिशालाई सही बाटोमा लैजाने काम गरेकाले सो फैसला ऐतिहासिक भएको उनले उल्लेख गरे । पार्टी अध्यक्ष तथा साधारण सदस्यबाट हटिसक्दा पनि प्रधानमन्त्री ओली पदमा बसिरहेको देखेर दुनियाँ नै चकित भएको उनको तर्क छ ।

नेत्रविक्रम चन्द विप्लब राजनीतिको मुल प्रवाहमा आएपनि कम्युनिष्ट आन्दोलनको मुल प्रवाहमा आउन बाँकी रहेकाले आफूहरु कम्युनिष्ट आन्दोलनको मुल प्रवाहमा विप्लवलाई स्वागत गर्ने दिनको प्रतिक्षामा रहेको बताए । कार्यक्रममा पदम राई र बिमल अधिकारीको नेतृत्वमा युवाहरुलाई पार्टी प्रवेश गराईएको थियो ।

Logo