हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका समाचारहरु मध्ये सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नामक राजनीतिक दल ऋषि कट्टेलले नेतृत्व गरेकै दलको भएको फैसला गरेको छ । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार उक्त दल कट्टेलकै भएको फैसला गरेसँगै तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पुरानै अवस्थामा फर्किएका छन् । त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चको आदेशलाई आफूहरुले मान्ने प्रतिक्रिया दिएका छन् ।
प्रतिनिधिसभाको बैठक फागुन २६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। आइतबार बोलाइएको बैठक नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले अवरोध गरेपछि संसद सचिवालयले सूचना टाँस गरेर बैठकको नयाँ मिति फागुन २६ गते दिउँसो १ बजेका लागि तोकिएको हो । आइतबारको संसद बैठक नेकपाको प्रचण्ड माधव समूहले बहिस्कार गरेको थियो भने कांग्रेस र जसपाले नाराबाजी गर्दै अवरुद्ध गरेको थियो । संसद सचिवालयले आइतबारको बैठकको कार्यसूचीमा संसद नभएका बेला सरकारले ल्याएका अध्यादेश पेश गर्ने विषय र वर्तमान र पूर्व सांसदहरुको निधनमा शोक प्रस्ताव गर्ने विषय उल्लेख गरेको थियो।
सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा श्रीकुमारी क्लबले नयाँबस्ती युवा क्लबलाई ४–३ गोल अन्तरले पराजित गरेको छ । आइतबार एन्फा कम्प्लेक्स सातदोबाटामो भएको खेलमा श्रीकुमारीलाई जीत दिलाउन आशिष राईले दुई गोल गरे भने पम्बा योल्मु र विवेक पुनले एक÷एक गोल गरे । त्यसैगरी काठमाडौंमा जारी मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातार दोस्रो खेलमा हार व्यहोरेको छ । आइतबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं मेयर–११ सँग ९४ रनले पराजित हुँदै बागमतीले लगातार दोस्रो हार व्यहोरेको हो ।
गत बिहीबार ९० अंकले उछालिएको शेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) फेरि ओरालो लागेको छ । गतसाता ३ दिन ओरालो र २ दिन उकालो चढेर सातामा ४७ अंकले घटेको बजार आज आइतबार दोहोरो अंकले ओरालो लागेको छ । गत दुई सातादेखि नै बजार सूचक अस्थिर देखिइरहेका बेला आइतबार पनि बजार सूचक ओरालो लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । आइतबार बिहान पत्नी राधिका शाक्यसँगै खोप लगाउन त्रिवि शिक्षण अस्पताल पुगेका प्रधानमन्त्री ओलीले खोप लगाइसकेपछि आफूलाई कुनै पनि समस्या नदेखिएकाले ढुक्क भएर लगाउन सर्वसाधारणलाई आग्रह पनि गरेका छन् । प्रधानमन्त्री ओलीले खोप लगाएसँगै तेस्रो चरणको खोप अभियान पनि आजैबाट सुरु भएको छ । त्यसैगरी कोभ्याक्स सुविधाको तीन लाख डोज खोप आजै नेपाल आइपुगेको छ ।































प्रतिक्रिया