अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसः यस्ताे छ, राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसः यस्ताे छ, राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने बताएकी छिन् । 

एक सय ११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा एक शुभकामना सन्देश दिँदै उनले नेपालको संविधानले व्यवस्था गरे अनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्नको खाँचो महसुस गरेको उल्लेख गरेकी छिन् ।  

उनले अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीलाई हार्दिक बधाई दिँदै सुख, शान्ति र समृद्धिका लागि राष्ट्रपतिले हार्दिक शुभकामना व्यक्त गरेकी हुन् । 

संसारभरिका विभिन्न क्षेत्रमा काम गर्ने महिलाहरूले हासिल गरेका राजनीतिक, आर्थिक र सामाजिक उपलब्धिलाई स्मरण गर्दै महिला अधिकार तथा लैङ्गिक समानताको पूर्ण प्राप्तिका लागि हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइने गरेको राष्ट्रपतिले स्मरण गरेकी छिन् । 

राष्ट्रपतिले यस वर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ हामी यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेको  उल्लेख गरेकी छिन् । 

उनले त्यस सङ्कल्पलाई साकार पार्न महिला र पुरुषका बीचमा विद्यमान आर्थिक, सामाजिक तथा सांस्कृतिक विभेद हटाउनेतर्फ व्यक्ति, परिवार, समाज, सङ्घसंस्था तथा राज्यका सबै निकायहरू अग्रसर हुनु आवश्यक रहेको बताएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

लैङ्गिक समानता प्राप्तिको अभियानमा जनसङ्ख्याको आधा हिस्सा ओगट्ने पुरुषको पनि सक्रिय सहयोग र सहभागिता पनि उत्तिकै जरुरी रहेको राष्ट्रपतिको भनाइ छ ।  

राष्ट्रपतिले भनेकी छिन् , “यस दिवसले हामी सबैलाई महिलाहरूको हक, अधिकार र सम्मानप्रति पूर्ण संवेदनशील भई लैङ्गिक समानताका लागि क्रियाशील सम्पूर्ण अधिकारकर्मीलाई थप उत्साहका साथ काम गर्ने प्रेरणा प्रदान गरोस् भनी कामना गर्दछु ।” 

उपराष्ट्रपतिको सन्देश 

दिवसकै अवसरमा शुभकामना सन्देश दिँदै उपराष्ट्रपति नन्दबहादुर पुनले राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकलगायतका अधिकार सुनिश्चित गरेको स्मरण गरेका छन् । 

उनले नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरे। उनले यस अवसरमा नेपाली महिलामा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्दै समृद्ध नेपाल निर्माणको राष्ट्रका कार्यभार पूरा गर्न उत्साह, जोस, जाँगर तथा शक्ति थपियोस् भन्ने सदीक्षासमेत व्यक्त गरेका छन् । 

उनको शुभकामना सन्देशमा भनिएको छ, “जनसङ्ख्याको आधाभन्दा बढी भाग ओगटेका महिलाले हरेक क्षेत्रमा समान अवसर पाउनु पर्दछ । संविधानले प्रत्येक महिलालाई लैङ्गिक भेदभाव विना समान वंशीय हक, महिलाहरु राजनीतिक, सामाजिक तथा आर्थिकरुपमा स्वतन्त्र र सशक्त नभएसम्म देशको समृद्धि सम्भव छैन ।” 

उपराष्ट्रपतिले  मुलुकको विकास, आर्थिक समृद्धि र महिलाहरुको हक–अधिकारका लागि संविधान प्रदत्त महिला अधिकारको कार्यान्वयन गर्दै महिलाहरुको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्रको ध्यान जानुपर्नेमा जोड दिएका छन् । उनले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसबाट नेपाली महिला र देशको सर्वाङ्गीण विकासका लागि एकताबद्ध भएर अगाडि बढ्न सबै नेपालीलाई प्रेरणा मिल्ने अपेक्षासमेत लिएका छन् ।रासस

Logo