प्रधानमन्त्री केपी शर्मा ओलीले संकीर्ण स्वार्थका लागि समय समयमा नेपाली सेनालाई अनावश्यक ढंगले विवादमा तान्ने गरिएको बताएका छन्।
राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको वार्षिकोत्सवको अवसरमा बुधबार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सेनालाई विवादमा तान्नका लागि हुने गरेका प्रयासहरुप्रति सजग र सर्तक रहन पनि सबैलाई आग्रह गरे। कानून उल्लंघन भए सम्बन्धित निकायले हेर्ने भएकाले वादप्रतिवादमा नउत्रने संस्थालाई वादविवादमा तान्ने खालमा काम गर्नु उचित नहुने तर्क उनले गरे।
उनले भने, “आफ्ना संकीर्ण स्वार्थका लागि नेपाली सेनालाई अनावश्यक ढंगले विवादमा तान्न खोज्ने, अपमान वा प्रोलोभन गर्न खोज्ने लगायत विभिन्न खालमा प्रवृत्तिहरु देखिन्छन् र नेपाली सेनालाई घिसारेर विवादमा ल्याउन खोज्ने । नेपाली सेनाका सदाशयतापूर्ण र राम्रा क्रियाकलापमा पनि जस नदिने, श्रेय नदिने बरु कसरी त्यसको आलोचना गर्न सकिन्छ, विरोध कसरी गर्न सकिन्छ भनेर ठाउँ खोज्ने र अनुत्तरदायी ढंगले हिलो छ्याप्ने खालका कुराहरु उचाल्ने । त्यस्तो कुराहरु गर्नु हुँदैन । नेपाली जनताको चेतनालाई समय समयमा अलमल्याउन खोज्ने, भ्रममा हाल्न खोज्ने प्रयास पनि हुने गरेका छन् । हामी त्यस्ता प्रयासहरुसँग सर्तक हुनुपर्छ ।”
उनले सुरक्षा परिषद्को संबैधानिक कानूनी र व्यवहारिक रुपमा सही प्रयोग भइरहेको दाबी गरे। विशेषगरि प्रतिरक्षा र राष्ट्रिय सुरक्षाको मामिलामा नेपाली सेनाको परिचालन एवं प्रयोग सही ढंगले गर्ने सवालमा परिषद्ले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनले उल्लेख गरे।
तुलनात्मक रुपमा विश्वमा शान्तिको स्थिति भएपनि ठूलो सानो सबै राष्ट्रले अनुचित ढंगले प्रभाव विस्तारको मुद्दालाई अघि सारेको भन्दै उनले आफ्नो राष्ट्रिय हितको रक्षा गरिरहँदा अरुको राष्ट्रिय हितको कहीँ कतै उल्लंघन हुन्छ कि भन्ने कुरामा सबैले ध्यान दिनुपर्ने बताए।
नेपाल सरकार सधैं शक्तिको आडमा नभई सत्यको आडमा न्यायका कुरा स्थापित गर्न चाहने भएकाले सोही अनुसार प्रतिरक्षा र सुरक्षा लगायत नीति तय गरिएको उनले स्पष्ट पारे। राष्ट्रिय र प्राकृतिक विपतको समयमा नेपाली सेनाले नै अग्र भागमा बसेर काम गर्ने गरेको उल्लेख गर्दै उनले सुरक्षा, सेवा र निर्माण सम्बन्धी कामलाई समुचित र व्यवस्थित ढंगले अघि लैजाने कुराको व्यवस्थापन सुरक्षा परिषद्ले गर्ने बताए।
नेपाली सेनाको राष्ट्र निर्माण, सुरक्षा र प्रतिरक्षामा महत्वपूर्ण योगदान र गौरवपूर्ण इतिहास रहेको तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पनि ख्याति कमाएको भन्दै उनले नेपाली सेनाको प्रशंसा गरे।
प्रधानमन्त्री ओलीले हिंसाको बाटोमा लागेकालाई शान्तिपूर्ण राजनीतिको मुलधारमा फर्काएकाले आन्तरिक हिंसा टुंगिएको र विखण्डनवादको पनि अन्त्य भएकाले नेपाल राष्ट्रिय एकताको शान्तिपूर्ण र नयाँ युगको उचाईमा प्रवेश गरेको बताए। उनले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय उद्देश्य र गन्तव्य प्राप्त गर्न सबै व्यवधानहरु हटेकाले अब नेपाल सजिलै समृद्धिको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गरे।































प्रतिक्रिया