विगतका तिक्तता मेटाउँदै एमालेका शीर्ष नेता

विगतका तिक्तता मेटाउँदै एमालेका शीर्ष नेता

केन्द्रबिन्दु
0
Shares

पछिल्लोपटक नेकपा (एमाले) का शीर्ष नेताबीच देखिएको तिक्तता मेटाउन छलफल भएको छ।  एमाले मुख्यालय धूम्रबाराहीमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच सोमबार बिहान छलफल भएको हो। 

गत फागुन २३ गते सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई मान्यता नदिएपछि एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताएपछि एमाले अध्यक्ष ओलीले नेपाल पक्षको सहभागिताविना बैठकले केन्द्रीय कमिटीका पदाधिकारी हेरफेर,  माओवादी केन्द्रबाट आएका नेतालाई केन्द्रीय सदस्यमा मनोनयन र विधान संशोधन गरेपछि दुई समूहबीच तिक्तता पैदा भएको थियो । 

सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना र एमाले ब्युतिएपछि पहिलोपटक शीर्ष नेताहरु एमालेलाई एकताबद्ध बनाउन र एकापसमा देखिएका विवाद सुल्झाउन छलफलमा जुटेका हुन्। गत फागुन २३ गते नेकपालाई सर्वोच्च अदालतले मान्यता नदिएपछि एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्किएका हुन्। 

छलफलमा महासचिव ईश्वर पोखरेल, नेता विष्णुप्रसाद पौडेल, सुवास नेम्बाङ, प्रदीपकुमार ज्ञवाली तथा वरिष्ठ नेता नेपालका तर्फबाट नेपालसहित नेता भीमबहादुर रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डे सहभागी भएका थिए। एमालेका केन्द्रीय सदस्य खिमलाल भट्टराईले आजको छलफलले विगतदेखिको संवादहीनतालाई तोड्दै एमालेलाई पुनः एकताबद्ध बनाउने बताए। ‘शीर्ष नेताबीच वैचारिक, सैद्धान्तिक रुपमा कुनै विवाद छैन’, उनले भने, ‘उहाँहरुबीच कार्यशैली, व्यवहारमा मात्र भिन्नता हो । आजको छलफलले पार्टीलाई एक ढिक्का बनाउनेछ।’

अर्का केन्द्रीय सदस्य ठाकुर गैरेले केही दिनयता दुई पक्षबाट भएका गतिविधिले पार्टीलाई असहजता स्थितिमा पुर्‍याएकाले आजको छलफलले  दुई पक्षबाट भएको गतिविधिलाई रोक्दै सहजतामा ल्याउने विश्वास व्यक्त गरे। अध्यक्ष ओलीले यही चैत ७ गते केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छन् भने नेपाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजना गर्दैछ। 

Logo