राष्ट्रपति भण्डारीको बङ्गलादेश भ्रमण तय, के के छन् कार्यक्रम ?

राष्ट्रपति भण्डारीको बङ्गलादेश भ्रमण तय, के के छन् कार्यक्रम ?

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले चैत ९ र १० गते छिमेकी मित्रराष्ट्र बङ्गलादेशको राजकीय भ्रमण गर्ने भएकी छिन्। बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा उनले दुई दिवसीय भ्रमण गर्न लागेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

राष्ट्रपति भण्डारीका साथ परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिवलगायत वरिष्ठ अधिकारी तथा सम्बन्धित मन्त्रालयका मन्त्री सहभागी हुने कार्यक्रम तय भएको छ । बङ्गलादेश स्वतन्त्रताको स्वर्ण जयन्ती तथा बङ्गलादेशका संस्थापक शेख मुजिबवुर रहमानको शतवार्षिकी जन्मजयन्तीको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारीको भ्रमण हुन लागेको हो। 

भ्रमणको अवसरमा राष्ट्रपतिले ‘नेपाल र बङ्गलादेशको सम्बन्ध र बङ्गलबन्धुको जन्म शताब्दी’ को बारेमा सम्बोधन गर्नु हुने कार्यक्रम तय भएको छ। राष्ट्रपति भण्डारीले आफ्ना समकक्षीसँग बङ्गला भवनमा भेटवार्ता गर्ने कार्यक्रम छ। यस्तै आफ्ना समकक्षीले आयोजना गर्ने स्टेट ब्याक्वेटमा सहभागी हुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

यसैगरी भ्रमणका अवसरमा राष्ट्रपतिबाट सावरस्थित राष्ट्रिय शहीद स्मारक र धनमण्डीमा रहेको बङ्गलबन्धुको स्मृति सङ्ग्रहालयको अवलोकन हुनेछ । नेपाली प्रतिनिधिमण्डलमा सहभागी सांस्कृतिक टोलीले ढाकामा प्रस्तुत गर्ने शताब्दी समारोह कार्यक्रमको अवलोकन पनि गर्ने कार्यक्रम छ। राष्ट्रपतिको सम्मानमा नेपाली दूतावासमा आयोजना हुने दिवा भोजमा त्यहाँ रहेका नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारी चैत १० गते स्वदेश फर्कनेछिन्।रासस

Skip This
Skip This
Logo