केपी ओलीलाई प्रयोग गरेर गणतन्त्र सिध्याउन खोजियो : प्रचण्ड

केपी ओलीलाई प्रयोग गरेर गणतन्त्र सिध्याउन खोजियो : प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधान स्वीकार गर्न नसक्ने देशी विदेशीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रयोग गरेर संविधान र गणतन्त्र सिध्याउन खोजिएको आरोप लगाएका छन्। 

आइतबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा दलित मुक्ति मोर्चाद्वारा आयोजित ५६ औं अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवस र नेपाली दलित आन्दोलनको कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले केपी ओलीको मनसाय गणतन्त्र टिकोस भन्ने नरहेको जिकिर गरे । ‘केपीजी केही देशी विदेशीको इसारामा चलेका छन् । उनी संविधान र गणतन्त्रलाई सिध्याउन चाहन्छन्,’ उनले भने ।

आफूले अधिकार र पहिचानको मुद्दा नछोडेको उनले बताए।  विशेषाधिकार बिना महिला र दलितहरुले वास्तविक अर्थमा अधिकार सम्पन्न हुने अभियानमा प्रतिस्पर्धा गर्न सक्दैनन् भनेर संविधान सभाको माइनटमा नै नोट अफ डिसेन्ट राखि भविष्यमा यसको निम्ति आन्दोलन गर्ने बाटो खुला राखेको भएपनि आफूले मुद्दा छाडेको भनि प्रचार भएको उनको भनाइ छ । 

प्राप्त अधिकारको उपयोग गर्दै बाँकी अधिकारको निम्ति लड्ने नीति लिएको भन्दै उनले विशेषाधिकार र पहिचानको मुद्दा नछोडेको स्पष्ट पारे। 

अध्यक्ष प्रचण्डले संविधानमा दलित, महिला, मधेसी, आदिबासी जनजातिलाई अधिकार दिएको कतिपयलाई मन नपरेका कारण संविधान च्यात्न लागेको बताए। 

नेपाली जनताले आत्मनिर्णयको अधिकार खोज्नु पर्ने अवस्था आएको अध्यक्ष प्रचण्डको भनाइ छ। दलित, आदिवासी, जनजाति, श्रमिक लगायतको विरुद्धमा षड्यन्त्र भएको भन्दै उनले त्यसको विरुद्ध आफू बाँचुञ्जेल लड्ने पनि बताए। संविधानमाथि प्रहार गरेर सबैको अधिकार उल्ट्याउन खोजिएको उनको भनाइ छ।

Skip This
Skip This
Logo