नेकपा (एमाले) का वरिष्ठ नेता माधव नेपालले केपी ओलीले सोधेको स्पष्टीकरणको डटेर सामना गर्ने बताएका छन् । उनले सो निर्णय मान्य नहुने र यसबाट तर्सेर नभाग्ने पनि बताए । आफूनिकट विद्यार्थीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै आज नेपालले स्पष्टीकरणबाट तर्सेर नभाग्ने बताएका हुन् ।
पार्टी अनुशासनविपरीत काम गरेको भन्दै चैत ७ मा बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेता नेपालसहित चारजना स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
सोही निर्णय अनुसार सोमबार एमालेले माधव नेपालसहित चार नेतालाई सोमबार पार्टी विपरीतका गतिविधि गरेको भनी स्पष्टीकरण सोधेको छ।
एमालेले नेता भीमबहादुर रावल, सुरेन्द्रप्रसाद पाण्डे र घनश्याम भुसाललगायतलाई पार्टी विपरीतका गतिविधि गरेको भनी स्पष्टीकरणका लागि पत्र पठाएको थियो । उनीहरु चारै जनालाई तीन दिनभित्र लिखित जवाफ पठाउन भनिएको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई सर्वोच्च अदालतले गत फागुन २३ गते मान्यता नदिई एमाले र नेकपा (माओवादी केन्द्र) लाई पहिलेकै अवस्थामा ब्युँताएपछि एमालेका अध्यक्ष केपी शर्मा ओली र अर्का नेता नेपालबीच तिक्तता पैदा भएको छ।
नेता नेपाललगायत प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध उभिएका थिए।
एमाले ब्युँतिएपछि फागुन २८ गते बसेको एमालेको केन्द्रीय कमिटी बैठकमा माओवादी केन्द्रका नेता रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, मणिचन्द्र थापालगायत २३ जनालाई केन्द्रीय सदस्यमा आफ्नो सहभागिता बिना मनोनयन गरिएको भनी नेपाल समूह असन्तुष्ट हुँदै आइरहेको छ। नेपाल समूहले पार्टीमा समानान्तर गतिविधि सञ्चालन गर्दै आएको छ।





























प्रतिक्रिया