नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिलेको अस्थीर राजनीतिक अवस्थाबाट मुलुकलाई निकास दिलाउन कांग्रेस नेतृत्वको सरकार आवश्यक रहेको बताएका छन्।
मंगलबार चितवन पुगेका नेता सिंहले पत्रकारहरुसँग कुराकानी गर्दै वर्तमान सरकारले मुलुकलाई अस्थीरतातर्फ लगेको र नैतिकता गुमाएकाले मुलुकलाई विधिसंवत तरिकाले निकास दिनु पर्ने बताएका हुन्।
उनले भने, ‘जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्न भनेको तर देशको अवस्थालाई हेरेर, अस्थिर राजनीतिलाई स्थिर बनाउन र बाँकी समयमा विकास निर्माणका काम गरि निर्वाचन गराउन कांग्रेसको नेतृत्वको सरकार आवश्यक छ।’
उनले नेपाली कांग्रेसले पाएको जिम्मेवारी सधैं पुरा गरेको र अहिले पनि पूरा गर्ने बताए। मुलुकलाई दुर्घटनाबाट बचाउन ओली सरकारलई हटाउन कांग्रेस आफैं अग्रसर भएको उनको दाबी छ।
‘अहिलेको सरकारले न भष्ट्राचार रोक्यो, न सुशासन कायम गर्यो, न विकास निमार्णका कार्य गर्यो, विकास बजेटसम्म पनि खर्च गर्न सकेन।’ उनले भने, ‘राजनीतिमा नैतिकताको धेरै महत्व हुन्छ। यो सरकारले नैतिकता गुमाइसकेको छ। अब यसको विकल्प तत्काल दिनुपर्छ।’
कांग्रेस लागि महाधिवेशन कि सरकारको नेतृत्व महत्वपूर्ण ? भन्ने प्रश्नमा नेता सिंहले भने, ‘हाम्रो लागि देश र जनता महत्वपूर्ण हुन । अहिलेको अवस्थाबाट निकास दिलाउन हामी सरकारमा पनि जान्छौं। महाधिवेशन पनि गर्छौं।’
साथै उनले कांग्रेसको आगामी महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुने बताए। नेता सिंह नेपाली कांग्रेस खैरहनी नगर समितिले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन चितवन आएका हुन् ।





























प्रतिक्रिया