प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा सरकारले उल्लेखित प्रगति हासिल गरेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले नयाँ वर्ष २०७८ को अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै अनेकन असहज परिस्थितिका बाजबुत २०७७ साल सफल वर्षको रुपमा रहेको बताएका हुन्। कोभिड १९ को महामारीले विश्व नै आक्रान्त भएको बेला त्यसको असर नेपालका सबै क्षेत्रमा परेको भएपनि २०७७ सालमा ठूला दीर्घकालिन महत्वका काम भएको दाबी गरे। उनले प्रतिकूलताका बीच २०७७ सालमा असाधारण काम भएको र राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा सफलताको वर्ष रहेको बताए।
कोभिड १९ महामारीसँगै मुलुकमा केही राजनीतिक अस्वस्थता देखा परे पनि गतवर्ष उपलब्धिको वर्ष रहेको उनले बताए। दशकौं पछिको सफलता प्राप्त गर्दै मेलम्चीको पानी काठमाडौं आइपुगेको, अतिक्रमित भूमि फिर्ता, पुनर्निर्माणका कामहरुले पूर्णता पाउने क्रम तिब्रगतिमा बढेको तथा नयाँ नयाँ असाधारण र दुरगामी महत्वका कामहरु बढेको पनि उनले उल्लेख गरे।
उनले आफ्नो भूभागसमेत सामेल गरेर नयाँ नक्सा सार्वजनिक गरेको र यसले राष्ट्रिय गौरव बढाएको तथा सबैमा आत्मविश्वास बढाएको दाबी गरे। सरकारले सातै प्रदेशमा ठूला ठूला नयाँ औद्योगिक क्षेत्रको शिलान्यास गरेको र लगानीका लागि शान्तिपूर्ण र अनुकूल वातावरण बनेको उनले उल्लेख गरे।
कोभिड १९ महामारीको प्रतिकूल अवस्थामा पनि अनलाइन र विभिन्न माध्यमका शिक्षण विधि अघि सारेर बालबालिकालाई शिक्षा प्रदान गरिएको र सामाजिक जनजीवनलाई सामान्य अवस्थामा राख्ने प्रयास गरेको दाबी पनि उनले गरे। कोभिड १९ को महामारी कसैका लागि पनि सकारात्मक नभएको भन्दै उनले त्यसबाट अर्थतन्त्र लगायत विभिन्न क्षेत्रमा असर पुर्याए पनि सरकारले नागरिकको जीवनरक्षालाई प्राथमिकता दिंदै आएको स्पष्ट पारे।
आशा जगाउने काम भएका छन्
प्रधानमन्त्री ओलीले जनतालाई आशा जगाउने गरी विकास निर्माणका कामहरु भइरहेको बताए। सरकारले गरेका कामहरु नदेख्ने समूहले निरन्तर जनता भड्काउने प्रयास भइरहे पनि सरकारका क्रियाकलापप्रति आशा र भरोसा जगाउने कामहरु लगातार भइरहेको दाबी उनले गरे। उनले प्रतिदिन साढे ५ किलोमिटर बाटो बन्ने गरेको, प्रति वर्ष १२ वटा आवासगृह निर्माण भइरहेको, पूर्वदेखि पश्चिमसम्म पुल बनाउने, करिडोर र लिंकरोड, मध्यपहाडी राजमार्ग (पुष्पलाल), मदनभण्डारी राजमार्ग, पूर्वपश्चिम राजमार्ग लगायत राजमार्गको स्तरोन्नति र निर्माणको कम भइरहेको फेयरिस्त प्रस्तुत गरे।
उनले महिनाको १ सयबाट सुरु भएको सामाजिक सुरक्षा भत्ता दिनको १ सयमा पुगेको उल्लेख गर्दै उनले आगामी आर्थिक बर्षदेखि लागू हुने गरि सामाजिक सुरक्षा भत्तामा वृद्धि गर्ने जानकारी दिए। ५ लाखको संख्यामा सामाजिक सुरक्षा भत्ता लिनेहरुको संख्या थपिएका, ०७५ मंसिर ११ गतेबाट नै मजदुरका लागि योगदानमा आधारिक सामाजिक सुरक्षा भत्ता सुरु गरेको तथा भूकम्पबाट क्षतिग्रस्त धरहरा पुनर्निर्माण भई ११ दिनपछि उद्घाटन गर्ने पनि उनले उल्लेख गरे।
हवाई मैदान र त्रिभुवन विमानस्थल लगायतका विमानस्थलमा नयाँ पन ल्याइएको, विद्यालयहरु पुनर्निर्माण हुने क्रम बढेको भन्दै उनले कुनै पनि विकासको श्रेय लिने होडबाजीमा सरकार नलागेको बताए।
२०७८ सालभित्र सडक बालबालिकाको अन्त्य गर्ने बताएको र त्यो पुरा गर्ने दोहोर्याए। सहारा गुमाएका ज्येष्ठ नागरिक र अभिभावक गुमाएका बालबालिकाको सहारा सरकार रहेको भन्दै सबैले सम्मानित जीवन बाँच्न पाउने स्थितिको निर्माण सरकारले गर्ने उनको भनाइ छ ।
एसिड आक्रमणविरुद्ध, बलात्कार र बलात्कारपछिको हत्या नियन्त्रण गर्नका लागि सरकारले अध्यादेशमार्फत कडा कानुन ल्याएको भएपनि संसदमा पेश गर्न नदिइएको गुनासो गरे। पुनर्स्थापना पछिको संसदको पहिलो बैठक नै संसद चल्न नदिएर अप्रिय र अशोभनिय स्थिति संसदमा देखिएको टिप्पणी उनले गरे।
हिंसा अन्त्य भएको
२०७६ सालमा पृथकथावादी सोचसहित अघि बढेको समूहलाई राष्ट्रिय राजनीतिमा समाहित गराएको र २०७७ सालमा हिंसाको बाटो लिइरहेको समूहलाई शान्तिपूर्ण मुलधारमा फर्काउन सफल भएकाले मुलुकबाट हिंसाको राजनीतिको अन्त्य भएको प्रधानमन्त्रीले दाबी गरे। हिंसाको बाटोमा लागेको समूह राष्ट्रिय राजनीतिको मुलधारमा फर्कनुले राजनीतिक अभिष्ट संबैधानिक र कानुनको मुलधारबाट नै प्राप्त गर्न सकिन्छ भन्ने कुरालाई स्थापित गरेको बताए।
उनले २०७७ सालमा लुम्बिनीमा ५ हजार क्षमताको सभाहल सञ्चालनमा आएको, गोदाबरीमा ३ हजार क्षमताको सभाहल र संसद भवन निर्माणको काम भइरहेको उल्लेख गर्दै जनतामा आशा जगाउने ढंगले विभिन्न विकास निर्माणका काम भइरहेको बताए।
सर्तकता अपनाउन आव्हान
प्रधानमन्त्री केपी शर्मा ओलीले र कोरोना महामारीको जोखिम रहेकाले आवश्यक सावधानी अपनाउन आग्रह गरे। उनले कोभिड १९ को महामारीबाट बच्नका लागि स्वास्थ्य सर्तकताका मापदण्ड कडाईका साथ पालना गर्न सबैलाई आव्हान गरे। उनले मानव स्वास्थ्य र मावन जीवन नै सबैभन्दा महत्वपूर्ण भएको उल्लेख गर्दै स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्न र चिकित्सकका परामर्शलाई शिरोधार्य र गरि आफूलाई सुरक्षित राख्न आग्रह गरे।
महामारी ह्वात्तै बढेपछि कतिपय विकसित देशहरुले पनि दोश्रो चरणमामा लकडाउन गरिरहेको प्रशंग उल्लेख गर्दै उनले स्वास्थ्य सर्तकताका मापदण्ड प्रयोग गरेर नै महामारी नियन्त्रणमा राखेर सामाजिक आर्थिक क्रियाकलाप सञ्चालन गर्नुपर्छ भन्ने सोचमा सरकार रहेको स्पष्ट पारे।
२०७७ सालमा कोभिड १९ महामारीको असरका कारण सामाजिक जनजीवन, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रलाई आक्रान्त बनाएको बताए। कोभिड १९ कात्तिकबाट नियन्त्रित गर्दै ल्याएको भएपनि चैत्रदेखि फेरि बढ्न थालेको उल्लेख गर्दै उनले अर्थतन्त्र लगायत विकासका आकांक्षाहरुमा प्रतिकूल असर नपरोस् भन्नका लागि सबै सजग हुनुपर्ने आवश्यकता औल्याए।
एमसीसी
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संसद सचिवालयमा टेबल गरेको एमसीसी प्रस्ताव छलफलका लागि संसदमा प्रस्तुत गर्नुपर्ने धारणा राखेका छन्। नेपाली कांग्रेस र नेकपा माआवादी सरकारमा हुँदा एमसीसीमा सम्झौता गरिएको उल्लेख गर्दै उनले सरकारले सो प्रस्तावबारे संसदमा छलफल होस् भन्ने माग गरिरहेको बताए। उनले सरकारले प्रस्तुत गरिसकेपछि संसदमा निर्णयार्थ प्रस्तुत नगर्नु भनेको असंबैधानिक हुने तर्क गरे।
आपसी बैमनश्यता नभई एक भएर अघि बढ्नु आजको आवश्यकता रहेको उल्लेख गर्दै उनले भने “फाटोको खेती होइन बैमनश्यताको होइन। अनेकता र दुरिलाई हटाएर राष्ट्रिय एकता कायम गर्ने र हाम्रा सम्पूर्ण सामर्थ्य र सहयोगहरु देश विकासका लागि प्रयोग गर्नुपर्ने आजको आवश्यकता हो। त्यस आवश्यकता तर्फ म सबैको ध्यानाकर्षण गराउँछु।”
मेरो कित्ता कार्यक्रम शुभारम्भ
प्रधानमन्त्री ओलीले नयाँ बर्षमा सरकारले नयाँ नयाँ कामहरुको थालनी गर्ने बताए। उनले आफ्नो जग्गा जमिन आफू बसेकै ठाउँबाट हेर्न सक्ने गरि डिजिटल प्रविधि शुभारम्भ सरकारले गरेको बताए।
विभिन्न भूमिकामा रहेर राज्यलाई योगदान पुर्याएका र लोकतान्त्रिक आन्दोलनमा योगदान गरेका व्यक्तिहरुलाई प्रतिकात्मक ढंगले सम्मान गर्ने कार्यक्रम रहेको पनि उनले जानकारी दिए।
सरकार नयाँ उत्साह र नयाँ आत्मविश्वासका साथ नयाँ वर्षमा प्रवेश गरेको भन्दै उनले सुरु गरेका कार्यक्रमलाई पुरा गर्ने, अपूर्णतालाई पुरा गर्ने र नयाँ कार्यक्रमहरु सुरु गर्ने बताए। उनले यसै वर्षभित्र हुम्लाको सिमिकोटलाई सडक सञ्जालसँग जोड्ने, शिलान्यास भएका ३ सय ९७ वटा अस्पतालको निर्माण कार्य अघि बढाउनुको साथै अस्पताल, विद्यालय, विश्वविद्यालय र प्राविधिक शिक्षालयको व्यापक रुपमा निर्माण गरि अघि बढ्ने स्पष्ट पारे। उनले अहिले नेपालीहरुको आत्मविश्वास र मनोबल बढेको दाबी गरे।
आशावादी भएर अगाडि बढ्न आव्हान
प्रधानमन्त्री ओलीले सबैको निष्ठा देश र जनताप्रति हुनु पर्ने भन्दै राष्ट्रिय हितलाई रक्षा गर्दै अघि बढ्न सबैलाई आव्हान गरे। उनले न्यायसहितको अन्तर्राष्ट्रिय उत्तरदायीत्वसहितको अन्तर्राष्ट्रिय सम्बन्धको पक्षपोषण गर्ने उल्लेख गर्दै विश्वसँग पनि त्यस्तै शान्ति र सम्बन्धको अपेक्षा गर्ने स्पष्ट पारे। उनले अबको विश्वलाई भयमुक्त, त्रासमुक्त, समानतायुक्त र सम्मानजनकपूर्वक बाँच्न पाउने विश्व बनाउनका लागि सबैलाई आग्रह गरे।
सरकारले सामाजिक जीवनको कुनै पनि क्षेत्रलाई नबिर्सेको उल्लेख गर्दै सबैको समस्या समाधानका लागि सरकार सजग रहेको बताए। तत्कालिन सशस्त्र द्वन्द्वका कारण गाउँमा बस्ने अवस्था नरहेको र विदेशीनु पर्ने अवस्था श्रृजना भएको उल्लेख गर्दै उनले अब भने नेपालमै उपयुक्त रोजगारी श्रृजना हुने स्पष्ट पारे।
सम्बोधनको सुरुमा उनले मुलुकभित्र र बाहिर रहेका सबै नेपालीलाई सुस्वास्थ्य, उन्नति प्रगती र सफलताको शुभकामना दिएका थिए।





























प्रतिक्रिया