भारतसँगको सीमा समस्या राजनीतिक सहमतिका आधारमा समाधान : परराष्ट्रमन्त्री

भारतसँगको सीमा समस्या राजनीतिक सहमतिका आधारमा समाधान : परराष्ट्रमन्त्री

केन्द्रबिन्दु
0
Shares

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारतबीचको सीमा समस्या दुई देशबीचको राजनीतिक सहमतिका आधारमा समाधान गरिने बताएका छन्। 

नेपाल भारत मैत्री सङ्घद्वारा आज आयोजित ‘सङ्घको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पद हस्तान्तरण’ कार्यक्रममा मन्त्री ज्ञवालीले अग्रज पुस्ताले गरेका सन्धि सम्झौताका आधारमा राजनीतिक तवरबाटै सीमा समस्या जतिसक्दो चाँडो समाधान हुने विश्वास व्यक्त गरे। 

उनले भने, “नेपाल र भारत प्रतिस्पर्धी होइनन्, एकअर्काका सहयोगी हुन्, नेपाल भारतसँगको सम्बन्धलाई उच्च महत्व दिन्छ, भारतको विकास र समृद्धिबाट नेपालले लाभ लिन सक्छ, त्यसैले दुई देशबीचका सबै समस्या राजनीतिक सहमतिका आधारमा समाधान गर्नेछौँ ।” मन्त्री ज्ञवालीले नेपाल र भारतबीचको जनस्तरको सम्बन्ध राजनीतिक, कूटनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा विस्तार गरी अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिए। 

आर्थिक साझेदारी र विकास परियोजनाका कारण पनि दुई देशबीचको सम्बन्ध अझ सुमधुर भएको बताउँदै मन्त्री ज्ञवालीले जलवायु परिवर्तन र अन्तरदेशीय अपराधविरुद्ध नेपाल र भारत मिलेर अगाडि बढ्नुपर्ने धारणा राखे। 

सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले छिमेकी भारतसँगको सम्बन्धलाई व्यवहारिकरुपमै प्रगाढ बनाउन सरकार प्रतिबद्ध रहेको बताए। सरकारका प्रवक्ता गुरुङले सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सबै लाग्नुपर्नेमा जोड दिए। विभिन्न कठिनाइका बीच पनि सरकार राष्ट्र र जनताका निम्ति कटिबद्ध रहेको उनको भनाइ थियो।

Skip This
Skip This
Logo