सभामुख र सांसदहरुको पीसीआर परीक्षण सुरु

सभामुख र सांसदहरुको पीसीआर परीक्षण सुरु


संघीय संसद् सचिवालयले आगामी २७ गतेको प्रतिनिधिसभा बैठकको तयारी गर्दै सांसद लगायत बैठकमा आवश्यक सम्पूर्ण जनशक्तिहरुको कोभिड १९ संक्रमणको परीक्षणका लागि स्वाव संकलन कार्य सुरु गरेको छ।

स्वाव संकलनका लागि सचिवालयले आज बुधबार र भोलि बिहीबारका लागि तालिका नै सार्वजनिक गरेको छ। सार्वजनिक तालिका अनुसार आज प्रतिनिधिसभाका सभामुख, सांसदहरु, महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारीहरुको, संघीय संसद सचिवालयका कर्मचारीहरु तथा सभामुखको निजी सचिवालयमा कार्यरत कर्मचारीहरुको स्वाव संकलत गरिने छ। 

नयाँवानेश्वर स्थित संघीय संसदको सचिवालयको लोत्से हलमा स्वाव संकलन जारी छ। लोत्सेहल पुगी सभामुख अग्नि सापकोटाले स्वाव दिइसकेका छन्। त्यसैगरी सांसदहरु पनि स्वाव दिनका लागि संघीय संसद भवन नयाँवानेश्वर पुगेका छन्। संघीय संसद् सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले बुधबार र विहिबार स्वाव संकलन गरिने र कसैको रिपोर्ट पोजेटिभ आएमा के कसरी कस्तो व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा कार्यव्यवस्था परामर्श समितिको बैठकले टुंगो लगाउने जानकारी दिए। 

प्रधानमन्त्रीले विश्वासको मत लिने विशेष बैठक भएकाले सो बैठकमा सबै सांसद्हरुको उपस्थिति हुनुपर्ने र कुनै सांसद्लाई कोभिड पोजेटिभ देखिएको अवस्थामा मतदानको व्यवस्था कसरी मिलाउने भन्ने कुरा टुंगो लगाउनु पर्ने हुन्छ।

प्रवक्ता पाण्डेका अनुसार, भोलि विहिबार अन्तर्राष्ट्रिय सम्मेन केन्द्र नयाँ बानेश्वरमा कार्यरत कर्मचारीहरु, मर्यादापालकहरु , संसदीय मामिला पत्रकारहरु, स्वकीय सचिव लगायतका सबै कर्मचारीहरु, ट्राफिक, बम डिस्पोजल टोली, कुकुरबाट चेकजाँच गर्ने सुरक्षाकर्मीहरु तथा बैठक सञ्चालनका लागि विभिन्न भूमिकामा रहेका सबैको स्वाव परीक्षण गरिने छ।

सरकारले विश्वासको मत लिने प्रयोजनका लागि मात्रै वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन बोलाएको छ।

Logo