सरकारले ‘डोर टु डोर’ स्वास्थ्य सेवा सञ्चालन गर्ने तयारी गरेको छ: मन्त्री गुरुङ

सरकारले ‘डोर टु डोर’ स्वास्थ्य सेवा सञ्चालन गर्ने तयारी गरेको छ: मन्त्री गुरुङ

केन्द्रबिन्दु
0
Shares

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले केही दिनभित्रै  कोभिड संक्रमितका लागि सरकारले 'डोर टु डोर' स्वास्थ्य सेवा सञ्चालन गर्ने बताएका छन्।

छैटौं पत्रकारिता दिवस ०७८ को अवसरमा शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङ्गले आफन्त नभएका र सबै परिवार कोभिडबाट संक्रमित भएका परिवारलाई स्वास्थ्य सेवा दिने गरि स्वास्थ्य सेवा सञ्चालन गरिने बताएका हुन्। 

उनले कसैलाई पनि कुनै पनि खाद्यपदार्थको अभाव हुन नदिने गरि स्वास्थ्य जस्तै तरकारी लगायत अत्यावश्यक खाद्यपदार्थको पनि डोर टु डोर सेवा सञ्चाल गरिने आश्वासन दिए।

उनले महामारीको समयमा सञ्चारगृहहरुलाई भय र त्रास फैलाउने काम नगर्न सुझाव दिए। मान्छेहरुलाई त्रसित र निरास बनाउने किसिमका समाचार सम्प्रेषण हुने गरेको भन्दै उनले छिटै नै मन्त्रालयले सञ्चारगृहहरुलाई गाईडलाइन्स बनाएर परिपत्र गर्ने तयारी गरिरहेको बताए। त्यसका लागि सबै सञ्चारगृहलाई समावेश गरि मन्त्रालयभित्रै समाचार उत्पादन गर्न एउटा छुट्टै टिम बनाउन लागेको पनि उनले जानकारी दिए।

उनले मन्त्रालयले घोषणा गरेको सम्मान तथा पुरस्कारमा सन्तुलन र समावेशी नहुन पनि सक्ने उल्ल्लेख गर्दै कुनै पनि विषय विवादरहित हुन नसक्ने बताए।

जुनसुकै कुराको पनि विरोध गर्ने र आलोचना गर्ने संस्कार रहेको भन्दै समाचार विक्री गर्ने सोचमा नभई समाजलाई सकारात्मक परिर्वतन गर्नुको साथै वर्तमान अवस्थामा कोभिड मुक्त बनाउने सोचमा अघि बढ्नु पर्नेमा उनले जोड दिए। उनले कोभिड रोकथाम तथा नियन्त्रणका कार्यहरुमा सरकारले सबैसँग समन्वय गरेर जानुपर्ने बताए।

राष्ट्रिय पत्रकारिता पुरस्कार घोषणा

सरकारले स्वर्गीय सुकदेव नेपाल (अग्नि शिखा)लाई वरिष्ठ पत्रकार सम्मान २०७६ प्रदान गर्ने भएको छ ।

उनलाई मरणोपरान्त सो सम्मान प्रदान गरिएको हो । छैटौं पत्रकारिता दिवस २०७८ को अवसरमा शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा एक कार्यक्रम गर्दै सरकारले स्वर्गीय नेपाललाई वरिष्ठ पत्रकार सम्मानबाट सम्मानित गर्न लागेको जानकारी गराएको हो । त्यसैगरी सोही सम्मान पत्रकार हर्ष सुब्बालाई पनि प्रदान गरिने भएको छ । पत्रकारहरु रघु मैनाली र शार्दूल भट्टराईलाई वरिष्ठ पत्रकार सम्मान २०७७ लाई प्रदान गरिने भएको छ । वरिष्ठ पत्रकार सम्मानको राशी जनही २ लाख रुपैया रहेको छ ।

शुक्रबार नै राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ र राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ को घोषणा गरिएको छ । राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ इन्द्रमान बुढा(उजिर मगर) बाग्लुङ्ग, मात्रिका पौडेल रामेछाप, संगीता खड्का काठमाडौं ,शेषराज दाहाल सिन्धुली, हेमन्तबहादुर बिके बाँके, सिलत शाह, धनुषालाई प्रदान गरिने भएको छ । त्यसैगरी पत्रकारहरु दिलिपकुमार थापा मगर, दिपेन न्यौपाने, दुर्गाप्रसाद शर्मा, शुरोजजंग पाण्डे, नितु पण्डित, पुनम पौडेललाई राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ प्रदान गरिने भएको छ । यो पुरस्कारको राशी जनही १ लाख रुपैयाँ रहेको छ ।

सम्मानित तथा पुरस्कृतहरु पत्रकारहरुलाई राष्ट्रपतिबाट सम्मान तथा पुरस्कार प्रदान गरिने सञ्चार मन्त्रालयले जनाएको छ।

Logo