उपचार नपाएर कोरोनाका कारण नागरिकले ज्यान गुमाइरहँदा काम चलाउ सरकारको नेतृत्व गरेको एमाले र अन्य दलहरू सत्ताको लुछाचुँडीमा व्यस्त छन्। विपक्षी दलहरू कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र जनमोर्चाले सरकार गठन गर्न नसकून भनेर एमाले प्रयास गरिरहेको छ।
बाहेकका दलहरू भने एमालेको माधवकुमार नेपाल र झलनाथ खनालपक्षीय सांसदहरूलाई राजीनामा दिन उक्साउँदै एमालेलाई फुटको दिशामा पठाउन र सरकार गठन गर्न बल गरिरहेका छन्।
सरकार गठनका लागि बहुमत जुटाउने समय बिहीबार राति ९ बजेसम्म हो। बहुमतका लागि १३६ सांसद आवश्यक हुन्छ।
प्रधानमन्त्री केपी ओलीले संसदमा विश्वासको मत लिन नसक्दा स्वतः पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संविधानको धारा ७६ को उपधारा (२) अनुसार सरकार गठनका लागि तीन दिनको समय दिएकी थिइन्।
समयसीमा सकिन लाग्दा बिहीबार बिहानैदेखि सत्तारुढ र विपक्षी दलहरूको दौडधुप चलिरहेको छ।
नेकपा एमाले
– बिहान करिब ८ बजे एमाले नेता माधवकुमार नेपाल निवास कोटेश्वरमा पार्टी अध्यक्ष ओलीको सम्पर्क सूत्रको रूपमा स्थायी कमिटी सदस्य विष्णु पौडेल गए। स्रोतका अनुसार पौडेलले नेपाललाई अन्य सांसदहरूको राजीनामा रोक्न आग्रह गरे र निलम्वन फुकुवासँगै अन्य मागहरू सम्बोधन गर्न ओलीलाई भन्ने बताएर फर्के।
– लगत्तै एमाले स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ९ बजे बस्यो।
– बैठकले अध्यक्ष ओलीलाई नेता नेपालसँग सम्वाद गर्नेदेखि देखिएका समस्याहरूको समाधान गर्ने गरी सम्पूर्ण अधिकार दियो।
– अधिकारप्राप्त ओलीले बैठकमै नेता नेपालसहित स्थायी कमिटी सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको निलम्वन फुकुवासम्बन्धी प्रस्ताव गरे। बैठकले अनुमोदन गर्याे।
– अध्यक्ष ओली २०७५ जेठ २ को एमालेकालीन र माओवादी केन्द्रबाट आएका रामबहादुर थापापक्षलाई पनि समेटेर स्थायी कमिटी बैठक बोलाउन राजी भए।
– बालुवाटारमा स्थायी कमिटी बैठक चलिरहँदा यता नेता नेपालले निकटस्थ वकिलहरू शम्भु थापा, टीकाराम भट्टराई र गोविन्द बन्दीसँगै राजीनामा दिएपछि हुने सम्भावित संवैधानिक परिस्थितिबारे छलफल गरे।
– माधवपक्षीय स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टीलाई २०७५ जेठ २ को अवस्थाबाट अगाडि बढाए मात्रै पार्टी एकतामा देखिएको संकटमोचन हुने केन्द्रविन्दुलाई बताए।
– स्थायी कमिटी सदस्य डा. रावलले बिहीबार ४ बजेसम्ममा पार्टीलाई २०७५ जेठ २ को अवस्थाबाट अगाडि बढाउन निर्णय गर्नेबारे अध्यक्ष ओलीलाई अल्टिमेटम दिए। तर, अल्टिमेटम सकिए पनि माग सम्बोधन भएको छैन।
– अध्यक्ष ओली र नेपालबीच बूढानीलकण्ठस्थिति व्यवसायी रामेश्वर थापाको घरमा वार्ता भइरहेको छ।
कांग्रेस
– सभापति शेरबहादुर देउवाले वैकल्पिक सरकार गठनबारे जसपा अध्यक्ष महन्थ ठाकुरसँग मध्यान्ह छलफल गरेका छन्। सरकार गठनमा सहयोग गर्न देउवाले गरेको आग्रहलाई ठाकुरले तटस्थ रहने भन्दै अस्वीकार गरेर फर्किए।
– सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच दिउँसो ३ बजेपछि भेटवार्ता भयो। स्रोतका अनुसार राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि दावी पेस गर्न दिएको समयसीमामै दुवै जना जाने सहमति भएको छ।
– सरकार गठनबारे निर्णय गर्न कांग्रेसको पदाधिकारी बैठक सभापति देउवा निवास बूढानीलकण्डमा ४ बजेपछि सुरु भएको छ।
माओवादी केन्द्र
– वैकल्पिक सरकार गठनको पक्षमा रहेको माओवादी केन्द्रले पनि बेलुकी ५ बजे बोलाएको स्थायी कमिटी बैठक जारी छ।
जसपा
– जसपा अध्यक्ष ठाकुरले आफूपक्षीय सांसदहरूको भेला भक्तपुरको एक होटलमा दिउँसो २ बजेपछि गरे। विपक्षी दलहरू कांग्रेस, माओवादी केन्द्र र जनमोर्चाको पक्षमा उभिएका अध्यक्ष उपेन्द्र यादव पक्षलाई ४० प्रतिशत सांसद पुर्याउन नदिने र दल विभाजन गर्न नदिने योजनाअनुसार भेला बसेको हो।





























प्रतिक्रिया