नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि आफूहरु पुरानै अडानमा यथावत रहेको बताएका छन्।
पछिल्लो समय पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग सघन छलफलमा रहेका नेता नेपालले आफ्ना अडानमा ओली सहमत भएपनि पार्टीको मोडालिटीबारे भने टुंगो लागिनसकेको बताए। उनले ०७५ जेठ २ गतेकै अवस्थामा पार्टीलाई पुर्याउने र गत फागुन २८ को निर्णय फिर्ता गर्नुपर्ने आफूहरुको मागमा अध्यक्ष ओली सहमत भएको पनि जानकारी दिए।
उनले भने, “फागुन २८ गतेको निर्णय फिर्ता लिने र जेठ २ गतेको अवस्था पुर्याउने हाम्रो बटमलाइन थियो। त्यसमा हाम्रो पार्टी अध्यक्ष एवं केपी शर्मा ओली सहमत हुनुभएको छ। पार्टी मोडालिटीका बारेमा छलफल गर्ने भन्नुभएको छ। त्यसमा पनि केही स्पष्टताहरुको आवश्यकता पर्ला। छलफल गरेर टुंग्याउने छौं।”
अध्यक्ष ओलीले मनोमानी ढंगले पार्टी चलाएको, संविधान विपरित प्रतिनिधिसभा विघटन गरेर प्रतिगामी कदम चालेको भन्दै खरो विरोधमा उत्रिएका नेता नेपाल समूहले ओली सरकारको विरुद्ध बन्न लागेको संयुक्त सरकार गठन प्रक्रियालाई सघाइरहेको थियो।
नेता नेपाल खनाल समूहका सांसदहरु प्रधानमन्त्रीले विश्वासको मत लिने वैशाख २७ गतेको दिन प्रतिनिधिसभाको बैठकमा पनि अनुपस्थित भएको थियो। तर संयुक्त सरकार गठनका लागि दिइएको समय सकिनै लाग्दा अध्यक्ष ओली र नेता नेपालबीच नाटकिय ढंगमा सहमति भएको थियो। सोही सहमति अनुसार नेपाल खनाल पक्षले प्रधानमन्त्री ओलीलाई नै समर्थन गर्ने भएपछि संसदमा ठूलो दलको हैसियतले शुक्रबार प्रधानमन्त्रीमा पुनः ओली नै नियुक्त भएका हुन्।































प्रतिक्रिया