प्रधानमन्त्री र राष्ट्रपति मिलेर निरंकुश कदम चालेको माओवादी केन्द्रको ठहर

प्रधानमन्त्री र राष्ट्रपति मिलेर निरंकुश कदम चालेको माओवादी केन्द्रको ठहर

केन्द्रबिन्दु
0
Shares

नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभा विघटनविरुद्ध सबैसँग एकताबद्ध भएर राजनीतिक र कानुनी संघर्षलाई अगाडि बढाउने निर्णय गरेको छ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर प्रतिनिधिसभा विघटन र चुनाव घोषणाको असंवैधानिक र निरंकुश कदम चालेको ठहर गर्दै यसको विरुद्धमा अग्रगमन र राष्ट्रिय स्वाधिनताको पक्षधर शक्तिसँग एकताबद्ध भई राजनीतिक र कानुनी संघर्ष अगाडि बढाउने निर्णय गरको नेता नारायणकाजी श्रेष्ठले बताए। 

उनले भने–‘प्रधानमन्त्री र राष्ट्रपति मिलेर जो असंवैधानिक, निरंकुश, अलोकतान्त्रिक र प्रतिगामी कदम चालियो। त्यसको सन्दर्भमा सबै संविधान, लोकतन्त्र, अग्रगमन र राष्ट्रिय स्वाधिनताका पक्षधर सबै शक्तिहरुसँग एकताबद्ध भएर राजनीतिक र कानुनी सबै प्रकारको संघर्ष अगाडी बढाउने निर्णय गरेको छ।’

बैठकले आजै नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एमाले) माधव नेपाल पक्ष, जनता समाजवादी पार्टी बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले एकताबद्ध भएर अगाडि बढ्ने निष्कर्षसाथ संयुक्त वक्तव्य निकालेको प्रति स्वागत पनि गरेको छ। 

साथै अन्य सबै राजनीतिक पार्टीहरु, सामाजिक शक्तिहरु, नागरिक समाज, पेशाकर्मी, बुद्धिजिवी लगायत सबैलाई संविधान, लोकतन्त्र, राष्ट्रिय स्वाधिनताको रक्षाको निम्ति एकजुट हुन अपिल पनि गरेको छ। माओवादी केन्द्रले कोरोना महामारीको संकटसँग जुध्न पार्टीको केन्द्रदेखि वडा तहसम्म कोभिड सेवा इकाई गठन गरेर स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको पनि नेता श्रेष्ठले जानकारी दिए।

Logo