प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी ढंगले काम गर्न कोरोना १९ व्यवस्थापन केन्द्रलाई निर्देशन दिएका छन्।
नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट जेठ ६ गते जारी भएको अध्यादेश अनुसार प्रधानमन्त्री अध्यक्ष रहेको कोभिड १९ निर्देशक समितिको मंगलबार बसेको पहिलो बैठकमा प्रधानमन्त्रीले कोभिड १९ संक्रमण नियन्त्रणका लागि तत्काल सबै नागरिकलाई खोपको सुनिश्चिता गर्ने गरि काम गर्न निर्देशन दिएका हुन्।
उनले कोभिड १९ नियन्त्रण सम्बन्धी र सार्वजनिक खरिद ऐन सम्बन्धी अध्यादेशले सम्पूर्ण प्रक्रियागत जटिलताहरुको समाधान गरेको भन्दै कोभिड १९ व्यवस्थापन केन्द्रलाई तदारुकताका साथ कामअघि बढाउन निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव खगराज बरालले जानकारी दिए।
आवश्यक ऐन नियम नभएका कारण समस्या भएपनि अब सबै समस्याको सम्बोधन भएकाले ढिला गर्ने छुट नभएको भन्दै प्रधानमन्त्रीले एक्सनमा जान कोरोना १९ व्यवस्थापन केन्द्रलाई निर्देशन दिए। सार्वजनिक खरिद ऐन र नियमावलीमा देखिएका समस्यालाई सहज गराउन अध्यादेश ल्याएको र अध्यादेशले सबै बाटो खोलेकाले कुनै अलमल नगरि काम गर्न प्रधानमन्त्रीले निर्देशन दिएको सचिव बरालले बताए।
कोभिड १९ निर्देशक समितिको पहिलो बैठकमा कोरोना १९ व्यवस्थापन केन्द्रका पदाधिकारीको उपस्थिति थियो। सोमबार सरकारले कोरोना १९ व्यवस्थापन केन्द्रका प्रमुखमा अवकासप्राप्त रथी बालानन्द शर्मालाई नियुक्त गरेको थियो। उनले मंगलबारदेखि नै आफ्नो जिम्मेवारी सम्हाल्दै बैठकमा सहभागी भएका थिए।































प्रतिक्रिया